काठमाडौं, ११ जेठ–काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले करिब दुई महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्दा चलाउनु पर्ने स्थिति नदेखिएको भन्दै मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाएको हो । १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ।

‘संलग्नता अनुसार फरक–फरक मुद्दा चलाइएको छ, दुर्गा प्रसाईंको हकमा कर्तव्य ज्यान समेत छ’, एक अधिकारीले भने, ‘अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा अघि बढ्दैछ ।’ प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो। त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए।

यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन्। १५ जेठमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो। दर्जनौं घाइते भएका थिए । घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसाममा पक्राउ गरेर ल्याएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *