भद्रपुर, १३ जेठ–झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
विसं २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाबाट एक जनाको हालसम्म पत्ता लाग्न सकेको छैन ।
बाढीका कारण विसं। २०७५ मा १ जना, २०७६ मा १० जना, २०७७ मा २१ जना, २०८० मा ५ जना र २०८१ सालमा ९ नौ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्यांक छ ।
बाढीका कारण सोही अवधिमा नौ हजार २६ परिवार प्रभावित, तीन सय ५९ परिवार पूर्णरुपमा विस्थापित र दुई हजार पाँच सय ८० परिवार आंशिक विस्थापित भएको सभापति ढकालले बताउनुभयो ।
नौ हजार परिवार उच्च जोखिममा
भmापा यस वर्ष बाढीका कारण नौ हजार घरपरिवार प्रभावित हुने रहेका छन् । जिल्लाका चार वटा गाउँपालिका झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी उच्च जोखिममा रहेको छ ।
शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका र बद्धशान्ति गाउँपालिका जोखिममा रहेको छ । यी पालिकाका नदीमा पानीको सतह ४।३ भन्दा माथि हुने बित्तिकै आठ हजार नौ सय १९ घरपरिवार विस्थापित हुने सभापति ढकालले बताउनुभयो ।
जिल्लाका मुख्य नदीहरु विरिङ, कन्काई, रतुवा, मेची, निन्दा, देउनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल, बनियानी लगायतका खोलामा बर्सेनि बाढी आउने गरेको छ । यी नदीमा पानीको बहाव बढेसँगै बाढी गाउँबस्ती पस्ने गरेको छ ।
भmापा जिल्लाको मध्य भएर बग्ने कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरु रहेका छन् भने जिल्लाभरि नौ स्थानमा वर्षामापन केन्द्र रहेको छ ।
जिल्लामा रेडक्रसका स्वयम्सेवक एक सय २५ जना रहेका छन् । दुई सय परिवारलाई पुग्ने गैरखाद्य सामग्री र उद्धार सामग्री १५ थान लाइफ ग्याकेट, ६ थान अस्थायी आवासका लागि टेन्ट, १० हजार लिटर खानेपानीको व्लाडर ट्याकं र हाते माइक, साइरन कनकाई नदी वारिपारि भण्डारण गरिएको झापा रेडक्रसले जनाएको छ ।
