दमक, २७ जेठ–तीनदिनदेखि अत्याधिक गर्मी बढेसँगै झापाको जनजीवन अस्तव्यस्त बनेको छ । चर्को घामसँगै तातो हावा चलेका कारण बाहिर हिंडडुलमा समस्या भएको छ । बालबालिका र बृद्धबृद्धाको दैनिकी कष्टकर बनेको छ । सडकमा मानिसहरुको आउजाउ घटेको छ भने बजार पसलहरु प्राय सुनसान बनेका छन् ।
व्यापार-व्यवसायमा मन्दी
यहाँ मंगलवार दिउँसोको तापक्रम ३९ डिग्री सम्म पुगेको छ । बजारमा चर्को गर्मीको नकारात्मक प्रभाव बढ्दा व्यापार व्यवसायमा मन्दी आएको दमकका व्यवसायी नेता ज्ञाननाथ पौडेल बताउँछन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइका अनुसार गर्मीले गर्दा दमकको वजार प्रभावित बनेको बताउँछन् । केही इलेक्टीक सामग्रीहरु र चिसो पेय पदार्थको छिटफुट कारोबार भए पनि अन्य व्यवसाय ठप्प जस्तै बनेको उनको भनाई छ । बजारमा फलफुल , फ्रिज, एयर कुलर, पंखा तथा होटलहरुमा चिसो पेय पदार्थको मात्रै छिटफुट व्यापार हुँदै आएको छ ।
दमकको बसपार्क क्षेत्रमा हुने भिडभाड अहिले एकाएक घटेको यहाँका यातायात व्यवसायीहरुले बताएका छन् । तातो हावा चलेका कारण बिद्यालयमा बिद्यार्थीहरुको उपस्थिति पनि न्यून देखिएको निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) दमक नगर अध्यक्ष नविन योगीले बताए ।
विद्यालयको पठनपाठन स्थगित गर्न सूचित
यता कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले मंगलवार सूचना निकालेर गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य जोखिम हुन सक्ने भन्दै दुई दिनका लागि विद्यालयको पठनपाठन स्थगित गर्न सूचित गरेका छन् ।
नीजि तथा सामुदायिक विद्यालयलाई पत्र पठाउदै अध्यक्ष राईले गर्मीका कारण जेठ २८ र २९ गते विद्यालयको नियमित पठनपाठन स्थगित गर्न सूचित गरिएको जारी सूचनामा उल्लेख छ । कमल-५ पाडाजुंगीस्थित स्मारिका सामुदायिक विद्यालयले पालिकाको परिपत्र पछि विद्यालयको नियमित पठनपाठन दुई दिनका लागि स्थगित गरिएको प्रिन्सीपल गुणराज गिरीले उल्लेख गरेका छन् ।
सावधानी अपनाउन आग्रह
गर्मीमा बालबालिकाहरु तथा ज्येष्ठ समुदायका मानिसहरु अति प्रभावित हुने भएकाले यो वेला सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
चिकित्सकहरुका अनुसार गर्मी र तातो हावा (लु) को कारण ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, रिंगटा लाग्ने समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई बाहिर घाममा हिंडडुल गराउन नहुने, छाता ओढेर मात्रै बाहिर निकाल्न, स्वस्थवद्र्धक झोल खाने कुराहरु, फलफुल, सलाद आदि प्रशस्त खुवाउन स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
दमकस्थित सरकारी अस्पताल दमक अस्पतालका सूचना अधिकारी तथा प्रशासन प्रमुख डाक्टर अनुपम घिमिरे अहिले तराईका कतिपय ठाउँमा चलेको तातो हावा (लु) ले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुरयाँइरहेको बताउँछन् । तातो हावाका कारण हिट स्टकको समस्या समेत निम्तिन सक्ने तथा त्यसले मिर्गौलामा समेत असर पुरयाउने हुदाँ सावधानी अपनाउनु पर्ने उनको सुझाव छ ।
गर्मीले विरामीमा झनै दम, रक्तचाप र मुटुको समस्या भएका बिरामीहरुलाई तातो हावाको बढी असरपर्ने वरिष्ठ फिजिसियन डा.घिमिरेको भनाई छ । गर्मीका समयमा बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिइनु पर्ने र तत्काल अस्पताल पुग्नुपर्ने डा.घिमिरेले बताए ।
गर्मीका कारण दमकसहित जिल्लाका सरकारी तथा नीजि अस्पतालमा विरामीहरु उपचार गर्न आउनेको संख्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
