काठमाडौं, २८ जेठ–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो। ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएका छन्।

अध्यक्षमा प्रकाश पौडेल र डा। सुजन कडरियाको उम्मेदवारी परेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन्। एक महिला र एक खुला उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, विकास श्रेष्ठ, भरत धामी, धर्मेन्द्र केसीलगायतको उम्मेदवारी परेको छ। महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईं, सुनीता धितालको उम्मेदवारी परेको ती सदस्यले बताए।

महासचिवमा दीपक धामी, आरके रोमश, सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ। एमालेको संशोधित नीतिअनुसार अनेरास्ववियुको पदाधिकारी ९ सदस्यीय हुनेछ। १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ। पदाधिकारीमै ५० जना हाराहारीको उम्मेदवारी परेको छ। चार जना सचिवका लागि २६ जनाभन्दा बढीको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटीको उम्मेदवारको संख्या नै ६ सय बढीको रहेको छ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोशिस गरेका थिए। मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्ताव समेत गरिएको थियो । अध्यक्ष मण्डलका तर्फबाट डा। सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो ।

पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न तयार भएको हो। अध्यक्ष मण्डलको नाम प्रस्तावपछि अनेरास्ववियुमा दुई खेमा देखिएको छ। एउटा खेमाको नेतृत्व पौडेलले गरेका छन्। अर्को खेमाको नेतृत्व डा। कडरियाले गर्दै प्रतिनिधिहरूको बीचमा मत मागिरहेका छन्।

मतदानको समय बुधबार बिहान १० देखि ५ बजेसम्म तय गरिएको छ। अन्तिम नामावली भने आउन बाँकी छ। तर अझै पनि सहमतिको प्रयास गरिने भएकाले चुनावको समय भने सर्ने देखिएको अध्यक्ष मण्डलको सदस्यले बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *