पोखरा, २ असार–गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङले आर्थिक वर्ष २०८२।८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्।

बजेटको ५९।७ प्रतिशत अर्थात् १९ अर्ब ९ करोड ३३ लाख २४ हजार पुँजीगत खर्चमा विनियोजन गरिएको छ। चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ प्रतिशत) र वित्तीय व्यवस्थापनका लागि २५ करोड (०.८ प्रतिशत) छुट्याइएको छ।

बजेटले दिगो र उत्थानशील पूर्वाधार, सडक, पुल, र ऊर्जा क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको छ। सञ्चित कोषमाथिको व्ययभार १ करोड ५४ लाख ५२ हजार छ। यो बजेटले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय पूर्वाधार विकास, प्रविधिमैत्री मानव पुँजी निर्माण, सामाजिक न्याय, समुन्नति, सुशासन, र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख उद्देश्य बनाएको अर्थमन्त्री गुरुङले बताए।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख, र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ छ। आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारले राखेको छ।

बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, र पूर्वाधारलाई प्राथमिकता दिएको छ । कृषि तथा भूमि क्षेत्रका लागि २ अर्ब ८ करोड ६७ लाख ५० हजार विनियोजन गरिएको छ, जसमा कृषि व्यवसायीकरण, बीमा, खोप कार्यक्रम र प्रांगारिक खेती प्रवद्र्धनका योजना समावेश छन्। उद्योग र पर्यटन क्षेत्रमा ८४ करोड २१ लाख ९३ हजार छुट्याइएको छ।

वन तथा वातावरण संरक्षण, जलवायु अनुकूलन, र वन्यजन्तु व्यवस्थापनका लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ। सामाजिक विकास, र खेलकुदका लागि २ अर्ब ३९ करोड ५१ लाख ६७ हजार छुट्याइएको छ। भौतिक पूर्वाधार र यातायातका लागि सबैभन्दा ठूलो हिस्सा ११ अर्ब ९८ करोड ९ लाख ८ हजार छुट्याइएको छ। ऊर्जा, जलस्रोत र खानेपानीका लागि ३ अर्ब ८८ करोड ८१ लाख विनियोजन गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *