काठमाडौं, २ असार–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्।
सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरूलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताए।
रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझै पनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गरे।
दूध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्था आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उनको आरोप थियो। आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाहवर्गका निमित्त बनेको बजेट भन्दा फरक नपर्ने स्पष्ट पारे।
उनले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आफूले बजेटमाथिको छलफलमा भाग लिने गरेको बताए। उनले हरेक वर्ष नेपाली युवाहरूबाट कमिशन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरूले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताए।

