हल्दिबारी, १० असार–झापाको हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार भएको गाउँ सभामा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले समग्र क्षेत्रको विकासका योजना सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सभामा प्रमुख अतिथि कोशी प्रदेसका सांसद छविलाल चुडाल रहेका थिए ।

गाउँपालिकाले यस वर्ष पनि कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । कृषि तर्फ किसानको खुसी, पशुपालन र कृषि कार्यक्रमलाई निरन्तरता दिँदै ५० प्रतिशत लागत साझेदारीमा कृषि यान्त्रिकरण उपलब्ध, प्राङगारिक मल उत्पादनमा साझेदारीसहित स्वस्थ्य माटो र बाली बढाऔँ अभियान, बालीनालीमा रोग किरा नियन्त्रणका लागि शिविर, सामुदायिक नर्सरी स्थापना, हल्दीबारीको हल्दी कार्यक्रम, पशुहरूमा लाग्ने महामारीजन्य रोग रोकथाम, जनचेतना,दुध,मासु लगायत निर्यात गर्न प्रोत्साहन, चिस्यान केन्द्र स्थापनाका लागि पहल लगायत रहेका छन् ।

शिक्षातर्फकक्षा १२ सम्म निशुल्क शिक्षालाई निरन्तरता दिँदै थप गुणस्तरीय बनाउन अनुगमन गरिने छ भने सबै विधालयमा घुम्ती कम्प्युटर शिक्षकलाई निरन्तरता, विधार्थीसंग जनप्रतिनिधि कार्यक्रम, लोपोन्मुख, दलित तथा आदिवासी समुदायका जेहेन्दार विद्यार्थीलाई साइकल वितरण, शिक्षकहरूलाई विभिन्न तालिम लगायत रहेका छन्।यसैगरी आधारभूत स्वास्थ्य सेवा सबैका लागि, सधैका लागि कार्यक्रम पहुँचयोग्य र प्रभावकारी बनाउने कार्यक्रम संचालन, प्रसुति पोषण प्रोत्साहन, जनता उपचार कोष तथा आकस्मिक स्वास्थ्य सेवा, हल्दीबारी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गर्ने, बालमैत्री, पोषणमैत्री, एवं क्षयरोगमुक्त पालिका बनाउन चरणबद्ध कार्यक्रम संचालन, स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता, बिरामीहरूलाई रेडक्रस सोसाइटीसंगको सहकार्यमा निशुल्क रगत लगायत रहेका छन् ।

निःशुल्क खानेपानी कार्यक्रम निरन्तर रहने छ। सबै वडामा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका आधारमा गरिनेछ भने बालमैत्री पालिका घोषणाका लागि आवश्यक कार्यक्रम अघि बढाउने, सामुदायिक वनहरुसँग सहकार्य गरि वन वातावरणका कार्यक्रम संचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम, सहकारी व्यवस्थापन तथा तालिम लगायत का कार्यक्रमहरु सर्वसम्मत रूपले पारित गरेको छ ।

त्यसैगरी गाउँपालिकाको १९ औं गाउँसभाबाट पालिका गान स्विकृत भएको छ अव औपचारिक कार्यक्रममा राष्ट्रगान पछि पालिका गान गाउनुपर्ने छ । यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले प्रस्तुत गरेको विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ पारित भएको थियो ।

हल्दिबारी गाउँपालिका गाउँ सभा अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो। सभामा हल्दीबारी वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल र हल्दीबारी स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद ढकाललाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो दुवैजना आगामी साउनबाट अवकास पाउन लागेका छन् । बजेट तथा कार्यक्रम पालिकाका प्रवक्ता देवीबहादुर थापाले प्रस्तुत गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *