दमक, ११ असार–झापाको दमकमा आजदेखि प्राकृतिक ढंङ्गबाट अर्ग्यानिक मच्छड धुप बनाउने, ब्रान्डिङ गर्ने र त्यसको बजारीकरणसम्बन्धी १० दिने तालिम सुरु भएको छ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा तथा दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नको आयोजनामा सुरु भएको तालिममा दमकका २० जना एकल महिलाहरुले सहभागी जनाएका छन्।
दमक सभाहलमा एक कार्यक्रमबीच सो तालिमको उद्घाटन नगरप्रमुख रामकुमार थापाले गर्नुभएको थियो । तालिम उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थापाले सीपमूलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनेमा ढुक्क रहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित उपप्रमुख रेगिना भट्टराईले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने यस्ता कार्यक्रमहरूको प्रभावकारितामाथि जोड दिनुभयो।
आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले अर्ग्यानिक धुप उत्पादनमार्फत घरेलु उद्योग विस्तार र रोजगारी सिर्जनामा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
संस्थाकी सञ्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न व्यावसायिक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रम सञ्चालन दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले गर्नुभयो।
तालिममा सहभागी महिलाहरुलाई उत्पादन प्रक्रियासँगै प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापनका विविध पक्षमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।
