दमक, ११ असार–झापाको कमल–७ लखनपुरस्थित गेउरियामा स्थापना भएको प्रादेशिक आर्युवेद अस्पतालले बालबालिकाहरुलाई लक्षित गरेर स्वर्ण बिन्दु प्राशन थोपा खुवाउने भएको छ ।
असार १३ गते शुक्रबार लखनपुरस्थित गेउरियामा स्थापना भएको प्रादेशिक आर्युवेद अस्पतालले जन्मेको ६ महिनादेखि ७ वर्षसम्मका बालबालिकाहरुलाई स्वर्ण बिन्दु प्राशन थोपा खुवाउने भएको हो ।
बुधबार, अस्पतालले पत्रकार सम्मेलन मार्फत स्वर्ण बिन्दु प्राशन, यसका महत्व र यसलाई सेवन गर्ने कार्यक्रमका बारेमा जानकारी गराएको छ ।
सो अस्पतालका डाक्टर अर्जुन आर्यालले बालबालिकाको स्वास्थ्य रक्षाका लागि र रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्ने स्वर्ण बिन्दु प्राशनको उपयोगिताका बारेमा जानकारी दिनुभएको छ ।
डाक्टर आर्यालका अनुसार यो एक प्रकारको अचुक औषधी हो । स्वर्ण भष्म (सुनपानी, मह, घिउसहितको सम्मिश्रण) बाट निर्मित स्वर्ण बिन्दु प्राशन अर्थात आयुर्वेद औषधी थोपा खुवाउन लागिएको हो ।
खासगरी बालबालिकाहरुको मस्तिष्कको विकास गर्न, स्मरण शक्ति बढाउन, पाचन प्रणालीलाई मजबुत गराउन, मौसमसंगै आउने कतिपय सिजनल सक्रमणहरु नियन्त्रण गर्न स्वर्ण बिन्दु प्राशन गुणकारी भएको सो अस्पतालका प्रमुख निर्देशक एबम् डाक्टर सिद्धार्थ ठाकुरले बताउनुभयो ।
डाक्टर ठाकुरका अनुसार कोशी प्रदेशमा पहिलो पटक यो कार्यक्रम हुन गइरहेको र कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारीहरु धमाधम हुँदै गएको छ ।
तीन सयदेखि पाँच सयसम्म स्वर्ण बिन्दु प्राशनको थोपा खुवाउने लक्ष्य राखेको अस्पतालका प्रम्ुख डाक्टर ठाकुरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई स्वर्ण बिन्दु प्रशानले साइड असर नगर्ने र ज्वरो आउँदा, पखला लाग्दा यो सेवन गराउन नहुने डाक्टर ठाकुर भन्नुहुन्छ–’यो खुवाइएपछि मासुजन्य खाद्य्य सामाग्रीहरु नखाएको राम्रो र सकभर बिहानीसमयमा खाली पेटमा खुवाउनु राम्रो हुन्छ ।’
