काठमाडौँ, १५ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धान दिवस २०८२ को शुभकामना दिनुभएको छ।
आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यवसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘आज असार १५, राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ।
नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ। किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो।
समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्वोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ। राष्ट्रिय धान दिवसको अवसरमा पुनः शुभकामना।’

