पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, ३१ असार–नेकपा (एमाले) को संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तारको लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको संरक्षकत्वमा बेग्लै समिति गठन भएको छ ।

नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्तका प्रणेता जननेता मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन डोरमणि पौडेलको संयोजकत्वमा मुल व्यवस्थापन समिति बनाइएको हो । यसको संरक्षकमा पूर्व राष्ट्रपति भण्डारी छिन् ।

मंगलबार मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले पत्रकार सम्मेलन गरेर जननेता भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएकी हुन् । जननेताको ७५औँ जन्मजयन्ती मनाउने सन्दर्भमा संगठन र जबज विस्तारको महत्त्वपूर्ण माध्यम बन्ने उनको भनाई छ ।

पूर्व मुख्यमन्त्री पौडेल संयोजक रहेको मूल व्यवस्थापन समितिमा सहसंयोजकहरू सुशील प्याकुरेल, प्राडा गणेशमान गुरुङ र सचिव डा भेषराज अधिकारी छन्। प्याकुरेल पूर्वराष्ट्रपति भण्डारी शीतलनिवासमा हुँदा सल्लाहकारको भूमिका थिए भने अधिकारी स्वकीय सचिव थिए ।

गुरुङ गण्डकी विश्वविद्यालयका निवर्तमान कुलपति हुन्। भण्डारी राष्ट्रपति छँदा शीतलनिवासमै सल्लाहकार तथा सचिवालयमा रहेका लालबाबु यादव, लक्ष्मी कार्की लगायत पनि समितिमा छन्। समितिमा पूर्वराजदूतहरू नारद भारद्वाज, उदयराज पाण्डे, डा अर्जुन कार्की, नेपाल सरकारका पूर्वसचिव (कानुन) उदय नेपाली श्रेष्ठ छन् ।

सदस्यहरू सानुकुमार श्रेष्ठ, गोपाल गुरागाईं, विनोद ढकाल, पर्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय लगायत छन्। यस्तै मणिशंकर निधि, नवराज शर्मा, नरेन्द्रराज पोखरेल, नवराज सिलवाल, कृष्ण दाहाल, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, प्रकाश गौतम र नारायण खतिवडा पनि सदस्य छन्।

यसैगरी जगन्नाथ नेपाल, शुभराज पोखरेल, इन्द्रबहादुर तामाङ, श्याम बस्नेत, वचनबहादुर सिंह, गोविन्द कलौनी, महेश्वर पाठक, नरेश रोकाया, टेकेन्द्र बस्नेत र टपेन्द्रबहादुर शाही पनि समितिमा छन्। यसैगरी विकास लम्साल, पत्रकार राजेश राई, डा निर्मल विक, डा कृष्ण अधिकारी, डा दीपेन्द्र श्रेष्ठ, प्राडा उपेन्द्र कोइराला, सोमकुमार राई, राजकुमार राई, खिम पन्थी र कमला ओली पनि मूल व्यवस्थापन समितिमा छन्।

गोपाल थापा, विनोद खड्का, खड्गबहादुर खत्री, इन्द्रमान स्याङ्तान, नारायण बन, रघुनाथ खुलाल, रामचन्द्र राई, मीरा आचार्य, डिलाराम घिमिरे, भगवती गौतम, हीरा थापा, जितेन्द्र श्रेष्ठ, भूमिका सुब्बा, केशव पोखरेल, प्रेमनाथ अधिकारी र रामेश्वर श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन्। आरसी न्यौपाने, सुमन पुरी, प्रकाश पौडेल, शान्ति पाख्रिन, मोती विक र माधव शर्मा सदस्य छन्।

हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर अगाडि बढ्नुपर्छः भण्डारी

मंगलबार फाउन्डेसनले भण्डारीलाई प्रमुख अतिथि बनाएर ७५औं मदन जयन्तीको मूल व्यवस्थापन समिति घोषणा गरेको थियो । पत्रकारहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा कहिलेकाहीँ व्यक्तिको अभाव हुनसक्ने, तर अरू थुप्रै योग्यहरू हुन्छन् भन्ने आशा गर्नुपर्ने बताइन् ।

‘पार्टी भनेको एउटा दर्शन, विचार, नीति सिद्धान्त र कार्यक्रमले चलेको हुन्छ। त्यसलाई राम्रोसँग संस्थागत ढंगले अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ व्यक्तिहरूको अभाव हुनसक्छ। तर, पनि हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर नै अगाडि बढ्नुपर्छ।’

जनताको बहुदलीय जनवादको विजारोपण, सूत्रीकरण र त्यसलाई एउटा सिद्धान्तको रूपमा अघि बढाउने कुरामा मदन भण्डारीले काम गरेको तर उनले लागू गर्न नपाएको पनि उनले बताइन्।

‘उहाँले लागू गर्न पाउनुभएन। उहाँको रहस्यमय निधन भयो। त्यो घटना अहिले पनि अनुत्तरित प्रश्न भएर रहेको छ,’ भण्डारीको भनाइ थियो, ‘तर, पनि पार्टी अगाडि बढ्यो। पार्टीले आफ्नो सिद्धान्त अनुसार यो ठाउँसम्म आइपुगेको छ।’

‘एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछ’

भण्डारीले विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा आफ्नो उपस्थिति हुने बताइन् । भदौ तेस्रो साता हुने विधान महाधिवशेनमा आमन्त्रित प्रतिनिधिका रूपमा वा अरु कुनै अवस्थामा पार्टीको निर्णय हुने उनको भनाई छ ।

‘पार्टीभित्र कुन संरचनामा के भूमिका हुने माथिल्लो तहको नेतृत्वको केन्द्रीय कमिटीले के निर्णय गर्छ रु कस्तो जिम्मेवारी दिनेमा भर पर्छ,’ उनले भनिन्, ‘पार्टी दर्शन, नीति सिद्धान्तले चलेको पार्टी हो । संस्थागत ढंगले अघि बढाउनुपर्छ । कहिले व्यक्तिको अभाव हुन सक्छ । हामीसँग योग्य व्यक्तित्व हुनुपर्छ ।’

‘संसद विघटनको घटनाले मलाई पछ्याइरहन्छ’

पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहनेबारे आफू जानकार रहेको पनि बताएकी छन् । भण्डारीले कसैको कुनै प्रेसर र दबाबभन्दा कार्यकारी अधिकारप्राप्त मन्त्रिपरिषद्‍का निर्णयलाई आफूले कार्यान्वयन मात्रै गरेको दाबी गरेकी हुन्।

‘संसद् विघटनको कुराले मलाई पछ्याइरहन्छ। ०१७ सालको कुरा पनि आइरहन्छ। त्यसपछि आएर ०५१ सालको आइरहन्छ। त्यस्तै म राष्ट्रपति हुँदा दुईपटक संसद् विघटन भएका छन्’, उनले भनिन्, ‘कसैको कुनै प्रेसर र दबाबभन्दा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन मात्रै गरेकी थिएँ। जे व्यवस्था छ, त्यहीअुनसार गरेँ। त्यो दबाबको विषय थिएन, विधि र व्यस्थाअनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेकी थिएँ ।’

उषाकिरण भण्डारीको पूरा वक्तव्यः

सर्वप्रथम, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस पत्रकार भेटघाट कार्यक्रममा पाल्नुभएका सबैलाई स्वागत गर्दछु।

जननेता मदन भण्डारी २००९ साल असार १४ गते ढुङ्गेसाँघु, ताप्लेजुङ जिल्लामा जन्मनु भएको थियो। उहाँको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परेर अवसान भएको थियो। युवावयमै जीवन गुमाउनु भएका जननेताको भौतिक शरीर हामीवीच रहेन, तर उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज० जसले उहाँलाई नवीन विचारकको रूपमा स्थापित गरायो, त्यो महत्वपूर्ण वैचारिक पूँजी यथावत छ र भविष्यमा समेत यसले नेपाली समाजको रूपान्तरण प्रक्रियालाई मार्गदर्शन गरिरहनेछ। हाम्रो राष्ट्रको पहिचान अभिवृद्धि गर्न, राष्ट्रियताको प्रवर्द्धन गर्न र देशप्रेमको भावना जागृत गर्न आफ्नो छोटो जीवनकालमा जननेता भण्डारीले निर्वाह गर्नुभएको ऐतिहासिक राजनीतिक भूमिकालाई नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।

यस्ता महान व्यक्तिको सम्मान र सम्झनामा विविध रचनात्मक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउनु हाम्रो कर्तव्य एवम् दायित्व हो। आजको यस अवसरमा म जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

जबजको मार्गदर्शनमा नेकपा (एमाले) ले २०५१ सालमा भएको आम निर्वाचनमा संसदमा सबैभन्दा बढी स्थान जितेर मुलुकमा पहिलो कम्युनिस्ट सरकार स्थापना गर्न सफल भएको थियो। नौ महिनाको अल्पमतको सरकारले कार्यान्वयन गरेका सामाजिक सुरक्षा, प्रगतिशील सुधार र सामाजिक न्यायका कार्यक्रमले एमालेको लोकप्रियता ह्वात्तै बढाएको थियो। बितेका तीस वर्षमा एमालेले स्थानीय स्तर प्रदेश तथा केन्द्रमा चुनाव जितेर नेतृत्व गर्दै देश र जनताका पक्षमा उल्लेखनीय कार्यहरू गरी मुलुकमा कम्युनिस्ट पार्टीको विस्तार, भूमिका र स्थानलाई व्यापक बनाएको छ।

अब यस पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरेर जबजले अगाडि सारेका राजनीतिक, आर्थिक तथा सामाजिक नीतिहरूको कार्यान्वयन गरी सामाजिक(आर्थिक रूपान्तरण प्रक्रियालाई थप उचाईमा पुऱ्याउनु पर्ने खाँचो छ। स्वाधीन, आत्मनिर्भर र सबल अर्थतन्त्र निर्माण गरी मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउनु पर्ने आवश्यकता छ। मुलुकमा न्याय र समानतामा आधारित समाजवाद स्थापना गरी त्यसको सफल कार्यान्वयन गर्नुपर्ने आकांक्षा साकार पार्नुछ।

यस परिप्रेक्ष्यमा जननेताले प्रतिपादन गर्नुभएको सिद्धान्त जबजको सान्दर्भिकता र महत्व मुलुकमा झन्झन् बढिरहेको छ। यस सिद्धान्तको आलोकमा सम्पादित कार्यहरूले जनताको मन जितेका छन् र यस सिद्धान्तको कार्यान्वयन गरिरहेको पार्टी नेकपा (एमाले) विस्तारित र लोकप्रिय बनिरहेको छ। तर सिद्धान्तले अवलम्बन गरेको लक्ष्यको सापेक्षतामा संगठन सुदृढीकरण अभियान सशक्त बन्न सकेको छैन। विस्तार र सबलताको लागि जननेताको योगदानको उजागर र जबजको प्रचार अति आवश्यक छ।

यसैगरी जबजको महत्वपूर्ण आयामको रूपमा रहेको पार्टी जीवनको लोकतान्त्रीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने विषयलाई आत्मसात गर्नुपर्दछ। यसबाट जननेताको बहुआयामिक व्यक्तित्व नयाँ पुस्तामा उजागर भई उहाँको योगदानबाट प्रभावित भएर त्यो पुस्ता राजनीतितर्फ आकर्षित हुनेछ।

जनताको बहुदलीय जनवादको कार्यान्वयन गरी आमूल सामाजिक परिवर्तनको अभियानमा लागेको नेकपा एमालेप्रति जनताको आकर्षण बढ्नेछ। जननेताको ७५ औँ जन्मजयन्ती मनाउने सन्दर्भमा संगठन र जबज विस्तारको महत्त्वपूर्ण माध्यम बन्नेछ। यसलाई साकार पार्न नयाँ पुस्ता, युवा समुदाय, श्रमिक, किसान, महिला, उत्पीडित समुदाय, बुद्धिजीवी लगायत सम्बद्ध सबै पक्ष क्रियाशील हुनसमेत आव्हान गर्दछौं।

यसै पृष्ठभूमिमा जननेताको ७५औँ जन्मजयन्ती मनाउने निर्णयमा हामी पुगेका हौं। यस कार्यलाई फलदायी, व्यापक र व्यवस्थित बनाउन वागमती प्रदेशका पूर्व मुख्यमन्त्री श्री डोरमणि पौडेलको संयोजकत्वमा जननेता मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति बनाउने निर्णय गरेका छौं।

विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद, हाजिरी जवाफ र खेलकूद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलापका साथ जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरि मनाइनेछ। समीक्षासहित २०८४ साललाई समापन वर्षको रूपमा ऐतिहासिक रूपमा सफल पारिनेछ।

आमसञ्चार जगतसहित सम्पूर्ण पत्रकार मित्रहरूले जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने हाम्रो निर्णय, महत्व र उपादेयतालाई गम्भीरतापूर्वक आत्मसात गर्दै सदाझैँ यस अभियानको प्रचार प्रसार गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *