काठमाडौं, ११ साउन–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्नै नसक्ने बताएका छन् । आज (आइतबार) होटेल यल्लो प्यागोडामा पत्रकार सम्मेलन गर्दै सिटौलाले अर्को सरकार बन्ने विकल्प नै नभएको बताएका हुन् ।
‘सरकारले अपेक्षा अनुसार काम गर्न सकेको छैन । तर, सरकार निरन्तर जान्छ । अर्को विकल्पबाट सरकार बन्न सक्दैन । अर्को सरकारको विकल्प र परिस्थिति छैन,’ सिटौलाले भने, ‘जे सम्झौता भएको छ, त्यो पूरा हुन्छ । मेरो बुझाइ यही हो ।’ नेता सिटौलाले संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताएका छन् ।
उनले निर्णयको सहजताका लागि त्यस्तो व्यवस्था राख्नुपर्ने तर्क गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले भने बहुमतले निर्णय गर्न सक्नेगरि संसद्बाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरिदिएका छन् ।
‘मलाई लागेको के हो भने संवैधानिक परिषद्ले पहिलो चरणमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ । त्यसबेला बहाल रहेका सबै सदस्यहरू उपस्थित भएनन् भने सबै उपस्थित हुनुपर्छ र सर्वसम्म निर्णय लिनुपर्छ भन्ने पहिलो हो,’ सिटौलाले भने, ‘विधेयकको मनसाय त्यही मैले बुझेको हो ।’ उनले थपे, ‘दोस्रो सर्वसम्मत हुन सकेन र सबै सदस्य उपस्थित हुन सकेनन् भने के गर्ने भन्ने छ । दोस्रो पटक बैठक बोलाउँदा बहुमत उपस्थित भए भने बहुमतले निर्णय गर्नुपर्छ भन्ने हो ।’
संवैधानिक पषिद्मा ६ जना सदस्य हुने र चुनाव हुने बेला ३ सदस्य मात्रै कायम रहने भन्दै त्यसको बेला पनि निर्णय गर्नुपर्ने सिटौलाले उल्लेख गरे । ‘संवैधानिक परिषद्मा ६ जना सदस्य हुन्छन्, प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा भने कानुनमन्त्री पनि उपस्थित हुन्छन्,’ उनले भने, ‘बहालवाला ६ जना छन् भने त्यसको बहुमत ४ हो । अध्यक्षसहित ४ हो । मानौं कुनै बेला ४ जना मात्रै बहाल भएका छन् भने ४ को पनि बहुमत भनेको ३ हो । २ हुँदैन । ३ भयो भने २ भयो ।’
सिटौलाले थपे, ‘प्रतिनिधिसभा भंग भएकै दिन विपक्षी दलको नेता रहन्न् । नोमिनेसन भएपछि सभामुख र उपसभामुख पनि रहन्न् । अनि ३ जना भयो । त्यसबेला निर्वाचन आयोगको अनुमति लिएर पनि निर्णय गर्नुपर्छ । रिक्त राख्नु हुँदैन ।’

