काठमाडौँ, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) एकीकृत समाजवादी पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
एमालेलाई लक्षित गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे । एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ ।
आफूहरूले सुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदासमेत संविधान संशोधन र ऐन कानुन निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ ।
एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे । रातोपाटी
उनले भने ‘कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौँ जटिलताले भरिएको समाज । यो समाजमा रहेका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरु गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो ।
२०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाइ बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरू के हुन्थ्यो ? संविधान संशोधन गर्न सक्थ्यो, जस्तोसुकै कानुन बनाउन सक्थ्यो । तर त्यो भएन ।
कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँसु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् ।
दिनदिनै त्यहाँ भएका मान्छेहरूले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौँ । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौँ । अब बदला सुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि । अब बदला सुरु हुनेछ प्रचण्डमाथि । कोही बाँकी बच्ने वाला छैनन् ।’
उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।