दमक, २३ भदौ–जेन–जीको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु र प्रहरीबीचको झडपमा परेर आज (सोमबार) दमकमा प्रहरीसहित एक दर्जन युवा विद्यार्थीहरु घाईते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परेर प्रदर्शनकारीतर्फ ७ जना र प्रहरीतर्फ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सीनासहित ५ जना घाइते भएका छन् । प्रदर्शनमा संलग्न रोशन भण्डारीका अनुसार घाईते एक जनाको अवस्था गंभीर रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएको छ । गंभीर अवस्थाका एकजना युवकलाई धरान पठाइएको छ । त्यस्तै, केहीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । घाइतेहरुको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बूले बताए ।
बिहान १०ः३० बजेदेखि जेनजी समूहले दमक–५स्थित आकाशे पुल अगाडिबाट निकालेको प्रर्दशनमा ठुलो संख्यामा युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दमकको प्रर्दशन स्थानीय युवा सौरव न्यौपानेको नेतृत्वमा पर्वत वस्नेत, रूपेश कार्कीलगायत युवाहरुले भ्रष्टाचार र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरुद्धमा प्रदर्शन शुरु गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा दिनभरि प्रर्दशन गरेको थियो ।
दमक–१ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि आई नाराबाजी गर्दै बिरोध प्रदर्शन गर्ने क्रममा मध्यान्ह १२ बजे प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।
दमक नगरपालिका कार्यालय अगाडि पार्किङ गरेर राखेको एउटा मोटरसाइकलमा आन्दोलनकारीहरुले आगजनीसमेत गरेका छन् । प्रर्दशनकारीले नगरपालिकाको गेट तथा पार्किङ स्थल समेत आगजनी गरेका थिए ।
ठुलो संख्यामा सहभागि प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीको दमकमा रहेका घरमा तोडफोडको प्रयास गरेका प्रहरीले जनाएको छ ।
झडपमा परेर नेकपा माओवादी केन्द्रका दमक नगर अध्यक्ष कूलबहादुर बस्नेत ९रवि० , कमल -५ का प्रकाश भटटराई लगायत ६ जना घाईते भएका छन् । घाईतेहरुको विस्तृत विवरण आएको छैन । उनीहरुको दमक अस्पताल र लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।