विराटनगर, २३ भदौ–नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री अब पदमा बसिरहन मिल्दैन,’ बैठकले गरेको निर्णयबारे प्रवक्ता प्रकाश ज्वालाले भने ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो।’

सोमबारको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

एकीकृत समाजवादी बैठकले बन्द भएका सामाजिक सञ्जालका प्लेटफर्महरू तत्काल खोल्न पनि माग गरेको छ।

‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौं,’ एकीकृत समाजवादीले भनेको छ, ‘नवयुवाहरू (जेन–जी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौं।’

सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको सचिवालय बैठकको ठहर छ।

‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ, युवाहरूको ज्यान गएको छ भने सयौं घाइते भएका छन्,’ ज्वालाले भनेका छन्, ‘मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको तत्काल उपचारको व्यवस्था गरियोस्।’

एकीकृत समाजवादीले सरकारी दमनको निन्दा एवं भत्सर्ना गर्दै दमन बन्द गर्न र वार्ताबाट आन्दोलनकारीका जायज माग पूरा गर्दै समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।

आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरूपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल पनि पार्टीले गरेको ज्वालाले जानकारी दिए।

केपी ओली

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *