काठमाडौं, २५ भदौ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमै खोज्नुपर्ने बताएका छन् ।

आज (बुधबार) एक सन्देश जारी गर्दै गौतमले वर्तमान अवस्थामा राज्यका सबै संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै संविधानबाहिरको समाधान दीर्घकालीन हुन नसक्ने चेतावनी दिएका हुन् ।

उनले हाल राजनीतिक दलहरू राज्यशक्तिभन्दा पछाडि परेको जटिल अवस्थामा रहेको भन्दै मुलुकलाई आवश्यक दिशानिर्देश दिने जिम्मेवारी मुख्यतः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीको भएको बताए ।

‘नेपाली भूमिको रक्षा, जनताको सुरक्षा र सार्वभौमिकताको संरक्षणका निम्ति सबै संवेदनशील हुनुपर्छ,‘गौतमले भने । उनले राज्य कमजोर भए राष्ट्रिय अखण्डता र एकता संकटमा पर्न सक्ने र विदेशी हस्तक्षेपको खतरा बढ्नेसमेत औँल्याए ।

जनताको आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई आग्रह गर्दै गौतमले ऐतिहासिक जिम्मेवारी पूरा गर्न समयमै कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *