काठमाडौं, २४ असोज–प्रतिनिधि सभा पुनःस्थापनाबारे नेकपा .एमाले) को सचिवालय विभाजित देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले यही एजेन्डा पारित गराउन खोजे मतभेद हुने देखिन्छ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा भक्तपुर गुण्डुस्थित निवासअगाडि कार्यक्रम राखेर अध्यक्ष केपी शर्मा ओलीले एमाले संसद पुनःस्थापनाको बाटो हिँड्ने स्पष्ट संकेत दिइसकेका छन्। त्यसका लागि एमाले सडकमा जाने, नागरिकहरूलाई आह्वान गर्ने ओलीले बताएका थिए।
एमालेको ५८ औं सचिवालयको बैठक शुक्रबार ओलीनिवास गुण्डुमै बस्दैछ। भोलिसम्म चल्ने बैठकमा ओलीले संसद पुनःस्थापनाकै दृष्टिकोण पारित गराउने सम्भावना रहेको एक सचिवालय सदस्यले बताए।
एमालेले सचिवालय बैठकको स्पष्ट कार्यसूची सदस्यहरूलाई पठाएको छैन।
‘तै पनि सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले व्यक्त गरेका विचार र दृष्टिकोण हेर्दा उनी संसद पुनःस्थापनाको बाटो हिँड्नसक्छन्, पार्टीमा त्यही लाइन पारित गराउन खोज्छन् भन्ने प्रष्ट भइसकेको छ,’ ती सचिवालय सदस्यले भने।
यसअघि बसेको सचिवालय बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा विघटनको संवैधानिक परीक्षण हुनुपर्ने बताएका थिए। उनले संसदमा प्रतिनिधित्व गरेका ८० प्रतिशतभन्दा बढी सांसदहरूले पुनःस्थापना हुनुपर्छ भनेकाले त्यसको संवैधानिक परीक्षण हुनुपर्ने उनको भनाइ थियो।
एमाले सचिवालय बैठक आज बिहान ११ बजेबाट सुरू हुँदैछ।
बिहीबार सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुबाहेक देशलाई प्रणालीमा फर्काउने अर्को बाटो नरहेको बताएका थिए।
‘अब हामीले देशलाई सही बाटामा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन,’ उनले भने।
उनले नेपाली कांग्रेस पनि यही बाटामा आउने बताएका थिए।
बिहीबारदेखि नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठक चलिरहेको छ।
तर अहिलेसम्म संसद पुनःस्थापनाबारे कुरा उठेको छैन।
आगामी असोज २६ गतेबाट सुरू हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्ने नै यो बैठकको मुख्य कार्यसूची हो। कांग्रेसमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा अहिलेसम्म कृष्णप्रसाद सिटौलाबाहेक अरू उभिएको देखिएको छैन। विमलेन्द्र निधिले अहिलेको अवस्थामा प्रतिनिधि सभा कांग्रेसको एजेन्डा हुन नसक्ने बताउँदै आएका छन्। उनले चुनावमा भाग लिनुपर्ने बताएका छन्।
