काठमाडौँ, २६ कार्तिक–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्।

आज (बुधवार) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकको सातो गएको टिप्पणी गरे। आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए। आफूहरूलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ।

नेपालले भने, ‘एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकको सातो गएको हुनुपर्छ। होस हवास गुमेको हुनुपर्छ। होस गुमाउनु आवश्यक छैन। गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन। मैले त बिगारेँ तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर हामीलाई धन्यवाद दिनुहोस्।’

उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए। एकता अभियानप्रति गौरवबोध गर्नुपर्ने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *