काठमाडौं, १ मंसिर –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले धेरै पार्टी दर्ता भइरहेकोमा असन्तुष्टि जनाएका छन्।
धेरै दल खोल्ने होडबाजीले जेनजी आन्दोलनका लक्ष्य हराएर जाने उनको भनाइ छ।
‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रिया रे। यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दैछन्,’ उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसारमा फुटेर होइन कि आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ।’
उनले नेपालीहरू फुट्ने र सानोतिनो कुरामा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको पनि बताए।
‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ।
जेन(जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णय पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उलट्याउँछन्,’ मन्त्री पुनको भनाइ छ।

