नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बम

काठमाडौं, ४ मंसिर–बाराको सिमरामा बुधबारदेखि जारी तनावपूर्ण स्थितिमाथि टिप्पणी गर्दै नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले धैर्य र संयमित रहन आग्रह गरेकी छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त आग्रह गरेकी हुन्।

‘हामीले धेरै विध्वंश देखिसक्यौं, नरसंहार भोगिसक्यौं। अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन। हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौं। अहिलेको समय संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ’ उनले लेखेकी छन्।

भदौ २३ मा ज्यान गुमाएका र घाइते भएकाहरूले न्याय पाउनुपर्छ भन्नेमा दुई मत नभएको र सधैं एक भएर आवाज उठाउने उनले बताएकी छन्।

‘विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ। हिजो सुशासनका निम्ति हामीले सडकमा आवाज उठायौं र आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो’ उनले लेखेकी छन्, ‘राजनीतिक दलका अग्रज नेताज्यूहरू र युवाहरूले पनि बुझून्, यसबेला नेपाल आमा शान्ति चाहन्छिन्।’

उनले बुधबार पनि स्ट्याटस लेखेर ‘शान्तिपूर्ण प्रदर्शन गरिरहेका नवयुवाहरूमाथि दमनको शृंखला बन्द होस्’ भनेकी थिइन्।

सिमरा विमानस्थलमा बुधबार एमाले कार्यकर्ता र जेनजी समूहहरूबीच भएको झडपले स्थिति बल्झिँदै जाँदा बिहीबार पनि तनावको माहोल छ।

जेनजी समूहले आफूमाथि कुटपिट गर्ने स्थानीय एमाले कार्यकर्ता पक्राउ गर्न माग गर्दै बिहीबार करिब १० बजेबाट प्रदर्शन थालेपछि कर्फ्यू लगाइएको छ। दिउँसो १ देखि बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिए पनि प्रदर्शनकारीहरू सडकमै छन्। उनीहरू राजमार्गमा भेला भएकाले सवारी आवागमन बन्द छ। बजार पनि बिहानैदेखि बन्द छ।

बिहीबार सिमरामा भएको प्रदर्शनमा जेनजी समूह र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना घाइते भएका छन्।

सिमराको तनाव साम्य पार्न प्रमुख जिल्ला अधिकारीले जेनजी समूहलाई वार्तामा डाके पनि अहिलेसम्म सुरू भएको छैन। यहाँका जेनजी अगुवाहरूले बुधबारको घटनामा कुटपिट गर्नेहरू पक्राउ परेपछि मात्र वार्तामा जाने बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी समूहका अगुवालाई वार्तामा डाकेको जानकारी दिए।

‘हामीले जेनजी समूहलाई घटनाबारे बुझ्न वार्तामा बोलाएका छौं। उहाँहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘हामी उहाँहरूलाई कुरिरहेका छौं।’

जेनजी प्रदर्शनकारीहरूले भने बुधबारको घटनामा मुख्य भूमिका निर्वाह गर्ने अरविन्द साहलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने बताएका छन्।

जेनजी समूहका स्थानीय संयोजक सम्राट उपाध्यायले बुधबार आफूहरूमाथि कुटपिट गर्ने प्रमुख व्यक्ति अरविन्द साहलाई पक्राउ गरेको जानकारी आएपछि मात्र वार्तामा जाने बताए।

जिल्ला प्रशासन कार्यालयबाट वार्तामा डाकिएपछि उनले सिमराको राजमार्गमै भेला भएका जेनजी युवाहरूका अगाडि आफ्नो अडान घोषणा गरेका थिए।

उनले भिडलाई ‘तपाईंहरूलाई हाम्रो अडान स्वीकार्य छ कि छैनरुु भनेर सोधेका थिए। भिडले एकै स्वरमा’ छु भन्ने जबाफ दिएको थियो।

जेनजी मधेस प्रदेश संयोजक शिव यादवले पनि आफूहरूमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता आएपछि मात्र वार्तामा जाने बताए।

‘हामीमाथि कुटपिट गर्नेलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त भएपछि हामी प्रदर्शनी रोकेर वार्तामा जाने छौं,’ उनले भने।

जेनजी समूहले बुधबार आफूहरूमाथि कुटपिट गरेको भन्दै सात-आठ जना विरूद्ध जाहेरी दिएका थिए। तीमध्ये दुई जनालाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *