दमक, १२ मंसिर–झापाको कमल गाउँपालिका–०२, तोपगाछीस्थित कमल नगर अस्पतालमा दन्त सेवा सञ्चालन भएको छ । कमल नगर अस्पतालमा दमक हस्पिटल एण्ड रिसर्च सेन्टरले साताको आइतबार र बिहीबार दन्त सेवा सञ्चालन गराउँदै आएको छ ।
अस्पतालका प्रमुख दीपक प्रसाद दाहालका अनुसार अस्पतालमा हालै अत्याधुनिक डेन्टल चेयर र कम्प्रेसर जडान गरिएको छ । सो प्रविधि जडान भएपछि दन्त सेवा थप व्यवस्थित र प्रभावकारी बनेको अस्पतालका प्रमुख दाहालले जानकारी दिनुभएको छ।
स्वास्थ्य सेवा विस्तारका लागि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको पहल र स्वास्थ्य सेवा विभागमार्फत निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सहयोगमा उपलब्ध उपकरणहरूले गाउँमै गुणस्तरीय सेवा पाउने वातावरण निर्माण भएको अस्पतालले जनाएको छ।
दन्त विशेषज्ञ डा टक न्यौपाने नेतृत्वको प्राविधिक टोलीले दन्त जाँच, रोग पहिचान, उपचार, स्क्रिनिङ तथा परामर्श प्रदान गर्यो। आवश्यक बिरामीको दाँत सुरक्षित रूपमा निकालिएको अस्पतालले जानकारी दिएको छ।
सेवाग्राहीको भीड बढेपनि सेवा प्रभावकारी र द्रुत रहेकाले गुणस्तरमा असर नपरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य तथा कमल–०२ का वडा अध्यक्ष अशोक सुब्बाले बताए।
जाँचका लागि आएका स्थानीयले गाउँमै यस प्रकारको गुणस्तरीय दन्त सेवा उपलब्ध हुनु “प्रशंसनीय र जनमैत्री कदम” भएको प्रतिक्रिया दिएका छन्।
वडा अध्यक्ष सुब्बाले स्वास्थ्य सेवा “जनताको घरदैलोमै पुर्याउने लक्ष्य” अनुसार आधुनिक दन्त सेवा नियमित सञ्चालन हुनु स्थानीयस्तरको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले डा। टक न्यौपाने तथा दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको टोलीको निरन्तर योगदानले सेवा अझ सहज र विश्वसनीय बन्दै आएको उल्लेख गरे।
अस्पताल प्रमुख दाहालका अनुसार नियमित स्वास्थ्य सेवासँगै दन्त जाँच, उपचार, स्क्रिनिङ, परामर्श लगायत आवश्यक प्रक्रिया अब कमल नगर अस्पतालमै सहज रूपमा उपलब्ध हुनेछ।
दन्त विशेषज्ञ डा। टक न्यौपानेका अनुसार दाँत किराले खाने, दाँत हल्लिने, दुख्ने, मसिना समस्या तथा मुखसम्बन्धी अन्य गुनासो लिएर बिरामीहरू आउने गरेका छन्।
