काठमाडौँ, १ पुस–नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट बिदाइ गरिएको छ।

चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई बिदाइ गरिएको हो।

हात्तीहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाइ फलफूल खान दिएर बिदाइ गरिएको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तलगायतले हात्तीलाई माला लगाए। बिदाइ गरे।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहारस्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। पन्तले जानकारी दिए।

उनले बिदाइ गरिएका हात्तीलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेसहित चाटर्ड विमानमार्फत कतार पठाइने बताए।

उनले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए।

रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन्। उनीहरुले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा। पन्तले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *