चितवन, ५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन–जी पुस्ता र परिवर्तन चाहने नयाँ शक्तिहरू मिलेर अघि बढ्ने उद्घोष गरेका छन्।

शनिबार भरतपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्न चाहने शक्तिहरू एक भएर जाने सवालमा त्याग गर्नसमेत तयार रहेको बताए।

‘म जेन–जी पुस्तालाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चुनाव सुनाव कुर्नुभएन। बजाइदिनुभयो। अस्ति २१ आयो, अर्को चुनावबाट थपौंला नि त भनेर सोझो भएर, संसदमा पनि हल्लाखल्ला नगरिकन, कुर्सी–सुर्सी पनि नभाँचिकन उठेर विरोध गर्‍यौं। जेन–जीले त बजाइदियो,’ उनले भने, ‘बजाउन त हामी पनि बजाउने हो। अल्ली कुरेर, संसदको माध्यमबाट भनेको हो, जेनजीले कहाँको ०८४ कुथ्र्यो ०८२ मै बजाइदियो।’

लामिछानेले एउटा चुनावको लागिमात्रै नभई एउटा पुस्ताको लागि कुर्नेगरी मिल्नुपर्ने सर्त राखेका छन्।

‘मिल्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन। एउटा चुनावका लागि मिल्ने होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन। पुस्ताका लागि राजनीतिमा आएको हो। सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं, नभए नमिलौं,’ उनले भने, ‘मैले कारागारमा हुँदा पनि भनेकै हो। म यहाँ छु, मेरो पार्टी मनाउनुस्। पार्टीले जे भन्छ त्यो मान्छु। मलाई केही चाहिएको छैन। कसैलाई चुनाव चिह्न चाहिए लैजानुस्, झण्डा, पार्टी के चाहिन्छ लैजानुस्। सभापति, उपसभापति के चाहिन्छ लैजानुस् देश बन्नुपर्‍यो, व्यक्ति बन्नु कुनै ठूलोकुरा होइन। त्याग गर्ने नामको पहिलो नम्बरमा मेरो नाम चढाएको छु।’

लामिछानेले पार्टीका नेताहरू संवादमा रहेकोले मिल्नुपर्नेहरू मिलेरै छोड्ने बताए। आफूलाई अब देशले निकास पाउने विश्वास लागेको पनि बताए।

‘जेन–जीको आन्दोलन भयो। देशका संरचना पनि जलेको छ, हामीलाई दुःख छ। तर त्यो भन्दा बढी त हाम्रा सपनाहरू जलेका छन्। त्यसलाई खरानी हुन दिन भएन। सिंहदरबार, संसद भवन न्यायालय बनाउँला तर वर्षौंदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछ ?,’ उनले भने, ‘सबै जेन–जीको साथ बोकेर हामी बनाउँछौं। जेनजी भाइ हो रवि दाइ पनि साथमा छ, किन चिन्ता गर्छौं।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *