झापा, २० पुस–तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनगर्ठनको पक्षमा अभिएका झापाका अगुवाहरुले माघ ५ गते सोमबार विर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएका छन् ।
पार्टी पुनगर्ठनको नेतृत्व एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालसहितका नेताहरु र नेकपा (संयुक्त) बीचमा एकतापछि झापामा पनि जिल्ला कमिटी घोषणा हुने भएको हो ।
माघ ५ गते सोमबार, बिर्तामोडमा वृहत जनसहभागिता सहित जिल्ला कमिटी घोषणा हुने भएको छ । सोही अवसरमा झापाका १५ वटै पालिकाहरुमध्ये आधा दर्जन गाउँ र नगर कमिटीसमेत घोषणा हुने भएको छ ।
कार्यक्रममा नेकपा (संय्रुक्त) का कार्यवाहक अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) पुनगर्ठन अभियानका संयोजक घनश्याम भुषालको प्रमुख आतिथ्यता रहने भएको छ । भुषालसहित कोशी प्रदेश कमिटी संयोजक महेश रेग्मी, वरिष्ठ नेता घनेन्द्र बस्नेत, जनसंगठन प्रमुख धर्मराज निरौला लगायतका नेताहरु झापामा आउने भएका छन् ।
सो कार्यक्रमलाई सम्पन्न गर्न केन्द्रीय सदस्य निलमणी बरालको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन कमिटी गठन गरिएको छ । कमिटीका सदस्यहरुमा श्री मिश्र (बिर्तामोड), नारायण राजवंशी (गौरादह), प्रेमसागर सापकोटा (अर्जुनधारा), मदन खतिवडा (भद्रपुर), लक्षमण खतिवडा (भद्रपुर) र अनिदलेब राई (दमक) छन् ।
माघ ४ गते भुषालसहित नेताहरुले बिर्तामाडमा पत्रकारहरुवीच भेटघाट र झापाका पुराना वामपंन्थी नेताहरु, विभिन्न क्षेत्रमा क्रियाशिल पेशाकर्मी र बुद्धिजीविहरुसंग छुट्टाछुट्टै छलफल र भेटघाट गर्ने कार्यक्रमको आयोजना गरिएको नेता बरालले जानकारी दिए ।
यसअघि, पुष १० गते बिहिबार विराटनगरमा पार्टीको कोशी प्रदेशस्तरीय अगुवा भेला सम्पन्न भएको छ । सो भेलामा प्रदेश कमिटीको संयोजकमा महेश रेग्मीलाई तोकेको छ ।
त्यस्तैं, मोरङ जिल्ला कमिटीमा भीमबहादुर बस्न्यातको संयोजकत्वमा ५१ सदस्यीय र कविराज घिमिरेको संयोजकत्वमा ३१ सदस्यीय बिराटनगर महानगर कमिटी घोषणा गरिएको छ ।
