प्रदीप पौडेल

काठमाडौँ, १५ माघ–नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

काठमाडौँमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपटक जनतामाझ लोकप्रिय उम्मेदवार तय गरिएको बताए । कतिपयलाई मन नपरेको र चित्त दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनको भनाइ थियो ।

महामन्त्री पौडेलले भने, ’पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ ।’ अरू दलको तुलनामा कांग्रेससँग धेरै सक्रिय कार्यकर्ता रहेको उल्लेख गर्दै उनले यही नै पार्टीको जितको आधार भएको बताए । उनका अनुसार पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको छ ।

उनले सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै देश विकासमा प्रष्ट दृष्टिकोण समेटिएको घोषणापत्र आउने बताए ।

निर्वाचनमा परिणाम ल्याउन सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो । साथै उनले सामाजिक सञ्जालको सदुपयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।

‘हाम्रा १० लाख सक्रिय सदस्य छन् ।’  उनले भने, ‘कम्तीमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ । उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौँ ।’

यसले पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसम्म पुर्‍याउन सहज हुने महामन्त्री पौडेलले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *