काठमाडौँ, १७ माघ–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित नरहेको बताएका छन् ।
सोलु(काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको निर्वाचन केन्द्रित कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पुनः प्रधानमन्त्री बन्ने तयारीबारे सोधिएको प्रश्नमा दाहालले त्यसतर्फ आफ्नो ध्यान नरहेको स्पष्ट पारे ।
पछिल्लो समय विभिन्न राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आ(आफ्ना उम्मेदवार अघि सारेको सन्दर्भमा उनले आफू त्यस्तो प्रतिस्पर्धामा नरहेको संकेत गरेका छन् ।
हाल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसले सभापति गगन थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेको चर्चा भइरहेका बेला दाहालको यस्तो प्रतिक्रिया आएको हो ।
त्यसै गरी, उनले पार्टी एकताको विषयमा पनि धारणा व्यक्त गर्दै विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकता प्रक्रिया निरन्तर रहने बताए । सबै दल एकै स्थानमा नआउँदासम्म एकताको प्रयास जारी रहने उल्लेख गर्दै उनले राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए ।

