बिर्तामोड, ३ फागुन–झापा गोल्डकपको सातौँ संस्करणले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ। उपाधिका लागि सोमबार पहिलो पटक फाइनल पुगेको मछिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
एपिएफले आयोजक झापा ११ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनल यात्रा तय गरेको हो। यता चार पटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्र उपाधि होडमा पुगेको हो।
प्रिम्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अन्य प्रतियोगिता छाडेर झापा गोल्डकपमा नै ध्यान केन्द्रित गरेको बताए। उनले ए टिम नै मैदानमा उतार्ने र दर्शकको समर्थन जितको आधार हुने विश्वास व्यक्त गरे।
एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले सशक्त खेल देखाउने दाबी गरे। टोलीले केही समयदेखि पूर्ण तयारी गरेको उनले जानकारी दिए।
मछिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांश खेलाडी मैदानसँग परिचित भएकाले खेल सहज हुने बताए। एपिएफका कप्तान हरि कार्कीले आयोजकलाई हराएपछि टोलीको मनोबल उच्च भएको भन्दै उपाधि जितेर नयाँ इतिहास बनाउने बताए।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल पाउनेछ।
उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै टिकट काटेर खेल हेर्ने एक जना दर्शकले गोलाप्रथाबाट यामाहा कम्पनीको स्कुटी जित्ने व्यवस्था गरिएको छ।
