दमक, ५ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एमाले( का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताए।

उनले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमालेको जनाधार कमजोर नभएको र आगामी निर्वाचनमा त्यसको पुष्टि हुने धारणा राखे।

अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा एमाले दोस्रो शक्ति रहे पनि अब पहिलो पार्टी बन्ने अवस्था बनेको उल्लेख गरे। विकास, स्थिरता र सुशासनका पक्षमा जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले मुलुकमा शान्ति, स्थायित्व र विकासको आवश्यकता औँल्याउँदै हिंसा, आगजनी र अराजक गतिविधि स्वीकार्य नहुने बताए।

नेपाली समाज परिश्रमी, शान्तिप्रिय र सहकार्यमा विश्वास गर्ने भएकाले देश निर्माणमा सकारात्मक सोच आवश्यक रहेको उनले उल्लेख गरे।

आइतवारदेखि झापामा रहेका अध्यक्ष ओलीले निर्वाचन केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आज दिनभर दमक क्षेत्रमा मतदाता भेटघाट गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *