काठमाडौं, ६ फागुन–घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले आगामी १० वर्षमा निजी र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्ने जनाएको छ। मंगलबार काठमाण्डौंमा नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गर्दै यस्तो बताएको हो।
आगामी १० वर्षमा आधारभूत तहदेखि उच्चतहसम्मको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाएर निजी र सार्वजनिक (सामुदायिक) शिक्षाको भिन्नता अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ।
सबै बालबालिकालाई विद्यालयको पहुँचको जिम्मेवारी स्थानीय पालिकाले, शिक्षाको गुणस्तरको जिम्मेवारी शिक्षक र सबै व्यवस्थापकीय संयोजनको जिम्मेवारी व्यवस्थापन समितीले गर्ने गरी प्रारम्भिक बाल विकास तथा विद्यालय शिक्षालाई पुनर्गठन गरिने पनि घोषणापत्रमा उल्लेख छ।
‘आधारभूत तहपछि विद्यार्थीको रुची र क्षमताअनुसार ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामाजिक तथा व्यवस्थापन सम्बन्धी विषयमा अध्ययनको व्यवस्था गरिने,’घोषणापत्रमा उल्लेख छ।
