काठमाडौँ, १२ फागुन–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास सम्भव नभएको बताएका छन् । उनले देश गफले नभई कामले बन्ने बताएका छन् ।
हतुवागढी र आमचोक गाउँपालिकामा आयोजित चुनावी सभा तथा भेटघाटमा अध्यक्ष साम्पाङले अन्य पार्टीहरूले काम गर्ने क्षमता नदेखाएको बताउँदै मुलुकको विकासका लागि श्रम अनिवार्य रहेकोमा जोड दिए । उनले विकासका नाममा भाषण र आश्वासनमै सीमित रहने प्रवृत्ति गलत भएको र काम गर्ने मानिसलाई हेप्ने, गफ गर्नेलाई सम्मान गर्ने संस्कार बन्द गर्नुपर्ने बताए ।
साथै उनले युवाहरूलाई पैसामा नलोभिन र श्रम गर्ने संस्कार अपनाउन आग्रह गरे । श्रम संस्कृति पार्टी श्रम गर्ने र गरिखानेहरूको पार्टी भएको भन्दै उनले सबैलाई विश्वास गर्न पनि आग्रह गरे ।
अध्यक्ष साम्पाङले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको अवस्थाबारे जानकारी लिँदै, काम गर्ने अवसर मिल्दा पुल निर्माणको जिम्मा लिन तयार रहेको पनि बताए । उनले पुल भोजपुरको जीवनरेखा भएको र आठ वर्षसम्म नबनाएको बताउँदै आफूहरूलाई काम गर्ने अवसर दिनुपर्ने बताए ।
