डा आरजु राणा देउवा

काठमाडौं, १५ फागुन–आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका छन् ।

सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट उनी राति ११ बजे सिंगापुरतर्फ लागेका हुन् । देउवा निर्वाचनअघि स्वदेश फर्किनेबारे यकिन छैन । यसअघि देउवा मतदान गर्न गृहजिल्ला जान सक्ने चर्चा थियो ।

‘स्वास्थ्यमा समस्या देखिएपछि उहाँ सिंगापुर जानुभएको जानकारी पाएको छु । तर, उहाँको फर्किने मितिबारे मलाई जानकारी छैन,’ कांग्रेस नेता एवं देउवाको गृहजिल्ला डडेल्धुराबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले नयाँ पत्रिकासँग भने । देउवासँग उनका स्वकीय सचिव भानु देउवा छन् । देउवापत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवा भने भारतमा छिन् ।

देउवा सिंगापुर उडेको विषयमा उनको सचिवालय र कांग्रेसको तर्फबाट औपचारिक जानकारी दिइएको छैन । तर, कांग्रेसभित्र भने यसलाई चासोपूर्वक हेरिएको छ । ‘पूर्वसभापतिज्यू निर्वाचनमा पार्टीका पक्षमा मत हाल्नुस् भनेर अपिल गर्ने मुडमा देखिनुभएको छैन, उहाँ मतदानका लागि डडेल्धुरा जाने कुरा पनि यकिन छैन,’ उनीनिकट अर्का कांग्रेस नेताले भने, ‘फागुन १९ मा फर्किने कि भन्ने कुरा पनि छ, तर टुंगो छैन ।’

कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति निर्वाचित भएलगत्तै पार्टीमा निष्क्रिय भएका देउवाले निर्वाचनमा पार्र्टीको पक्षमा बोलेका छैनन् । उनले नवनिर्वाचित सभापति थापासँग कुराकानी पनि गरेका छैनन् । राजनीतिक जीवनको अन्तिम चुनाव लड्न चाहेका देउवालाई थापाले टिकट दिएका थिएनन् । जोडबलमा अपदस्त गरिएको भन्दै देउवा असन्तुष्ट छन् । गृहजिल्ला र प्रदेशमा कांग्रेसका कतिपय उम्मेदवारले चुनावी प्रचारका पोस्टरमा देउवाको तस्बिर प्रयोग गरेका छन् ।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा देउवादम्पतीमाथि आक्रमण भएको थियो । जेन–जी आन्दोलनमा घाइते भएपछि देउवा पत्नीको सुरुमा सेनाको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो । देउवाको टाउकोमा चोट लागेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *