दमक, १८ फागुन–फागुन २१ गते हुन गईरहेको निर्वाचनको पूर्व सन्ध्यामा परेको होली पर्व यसवर्ष घरपरिवार भित्र मनाउनु पर्ने सरोकारवालाहरुले सुझाएका छन् ।
इलाका प्रहरी कार्यालय दमकले आइतवार नगरपालिका, उद्योगी, व्यवसायी, होटल तथा मदिरा व्यवसायीहरुसंगको अन्तरकृयामा सहभागिहरुले होलीसंगै निर्वाचन कार्यक्रम अन्तगर्त मौन अवधिसमेत परेकाले त्यसलाई प्रभावित हुने गरि कुनै कार्य गर्न,गराउन रोक लगाउने निर्णय भएको प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।
उनका अनुसार अन्तरकृयासहितको छलफलले दमकमा मनाईदै आएको होली पर्व संस्कृतिमूलक मनाउन आग्रह गर्ने तथा सार्वजनिक स्थानमा होली खेल्न, रंग विक्रीवितरण नगर्न समेत अनुरोध गर्ने निर्णय गरिएको छ । होलीसंगै आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित रुपमा सम्पन्न गर्न सरोकारवालाहरुले सहयोग पुरयाँउने समेत निर्णय गरिएको प्रनाउ लम्सालले बताए । होली तथा निर्वाचनमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।
होलीमा हुदै आएको तडकभडक, होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्नेजस्ता कार्य पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्ष्य गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३९घ० अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छालगायत सामग्री प्रयोग गर्न नपाइने व्यवस्था रहेको निर्णयमा उल्लेख छ ।
सोही प्रावधानअनुसार होलीका अवसरमा निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिरअङ्कित सामग्री प्रयोग गरेमा पनि कारबाही गरिने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरिएको छ ।
अरूको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य नगर्न सचेत गराइएको छ ।
कानुनविपरीतका गतिविधि भए प्रचलित कानुन र आचारसंहिताअनुसार कडा कदम चालिने प्रशासनले स्पष्ट पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार ढङ्गले पर्व मनाउन अनुरोध गरिएको छ ।
छलफलमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, होटल व्यवसायी संघ दमकका अध्यक्ष युवराज दंगाल, दमक मदिरा व्यवसायी संघ झापाका सचिव नगेन्द्र चम्लागाई, पत्रकार विष्णु सुब्बा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत लगायतले बोलेका थिए ।
सोहि छलफल पछि दमक उद्योग वाणिज्य संघले दमकमा होली संगै निर्वाचन मर्यादित रुपमा सम्पन्न गराउने सम्बन्धी सार्वजनिक रुपमा माईकिङ गरिएको अध्यक्ष गुरागाईले बताए ।
