काठमाडौं, २३ फागुन–प्रतिनिधि सभा निर्वाचन २०८२ मा कोशी प्रदेशमा नेकपा एमालेले पहिलो जित निकालेको छ।
यसअघि कोशीमा बलियो मानिँदै आएको एमालेलाई यसपटक कम मत प्राप्त भएको छ। एमालेका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्देवारसँग ठूलो अन्तरले पराजय भोगिरहदा कोशीबाट एमालेले पहिलो सिट जितेको छ।
एमालेका ताप्लेजुङका उम्मेदवार क्षितिज थेबेले १३९६३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। अघिल्लो पटक यहाँ एमालेको तर्फबाट योगेश भट्टराईले जितेका थिए। तर यसपटक भट्टराईको सट्टा एमालेले थवेलाई टिकट दिएको थियो।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु रहे। गजेन्द्रले ११७११ मत प्राप्त गरेका छन्।
नेकपाका खेल प्रसाद बुडाक्षेत्री ६७७५ मत ल्याए भने यहाँ श्रम संस्कृति पार्टी चौथो भयो। श्रम संस्कृतिका सन्तोष राई ५२०९ मत प्राप्त गरे।
यहाँ रास्वपाका उम्मेदवार भने पाँचौ भए। रास्वपाका बिरेन्द्र श्रेष्ठले ४१५५ मत प्राप्त गरेका छन्।
यससँगै एमालेले चार सिट जितेको छ। यसअघि बाँके २ बाट मोहम्मद इश्तियाक राई, दैलेख २ बाट लक्ष्मी प्रसाद पोखरेल र बझाङबाट ऐन बहादुर महर विजयी भएका थिए।

