काठमाडौं, २३ फागुन–प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष नेतृत्वले पराजय भोग्नु परेको छ ।

अध्यक्ष केपी शर्मा ओली यस पटक झापा(५ बाट पराजित भएका छन्। बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले हराएका छन् ।

यसैगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल, र राजन भट्टराई पनि पराजित भएका छन्। अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको जित्ने सम्भावना पनि लगभग समाप्त भएको छ।

अर्का दुई उपमहासचिव रघुबीर महासेठ भने चुनावी प्रतिस्पर्धामा निकै पछि परिसकेका छन् । सचिव शेरधन राई पनि ढुक्क हुने स्थितिमा छैनन् । राईको निर्वाचन क्षेत्र भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता लिइहँदा सचिव राईले पछ्याएरहेका छन् । हालसम्म एमालेले ९ स्थानमा मात्र अग्रता लिएको छ।

यो हारपछि एमालेको नेतृत्व, नीति र कार्यक्रमप्रति पनि गम्भीर प्रश्न उठेको छ । २०७९ को निर्वाचनमा ७८ सिट सहित दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले यस पटकको पराजयले पार्टीको भविष्यप्रति सवाल खडा गरेको छ।

पार्टी नेतृत्वले परिणामपछि समीक्षा गर्ने तयारी गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जालमार्फत एमालेको नेतृत्व र कार्यशैली सुधार्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले पार्टीपंक्तिलाई निर्वाचनको परिणामबाट विचलित नहुन आह्वान पनि गरेका छन् ।

उनले भने, ुविगतमा हाम्रा तर्फबाट भएका गल्तीकमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।ु

०४६ सालको जनआन्दोलनपछि शक्तिशाली पार्टीको रुपमा उदाएका एमालेले २०४८, २०५१, २०५६, २०६४ र २०७० का चुनावमा महत्त्वपूर्ण सिट जितेको थियो । २०७४ मा प्रत्यक्ष र समानुपातिक मिलाएर १२१ सिट जितेको पार्टीले माओवादीसँग एकता गरेर १७४ सिट प्राप्त गरेको थियो । २०७९ मा समानुपातिक मतमा दोस्रो र प्रत्यक्षमा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *