काठमाडौँ, २४ फागुन–भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीमा २०३९ सालमा ध्रुवराज राईको जन्म सामान्य परिवारमा भयो । गाउँमै हुर्किएका राईले विद्यार्थी जीवनबाटै राजनीतिक नेतृत्वको यात्रा सुरु गरे।
उनी भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा दुई पटक स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति बने। यही भूमिकाले उनलाई स्थानीय राजनीतिमा चिनायो। विद्यार्थी आन्दोलनमा सक्रिय राई २०६२र६३ को जनआन्दोलनमा पनि अग्रपङ्क्तिमा देखिएका थिए।
राई सुरुवातमा नेकपा एमालेबाट राजनीतिमा सक्रिय थिए। विद्यार्थी संगठन हुँदै उनी पार्टीको जिल्ला तथा प्रदेश तहसम्म पुगे। पछि उनी एमालेको कोशी प्रदेश कमिटी सदस्यसमेत बने।
२०७४ सालको स्थानीय तह निर्वाचन राईको राजनीतिक यात्रामा महत्त्वपूर्ण मोड बन्यो। त्यस चुनावमा उनले कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई पराजित गर्दै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा जित हासिल गरे।
पालिका अध्यक्ष हुँदा उनले विकासका केही कामलाई प्राथमिकता दिए। विशेष गरी लामो समय अन्धकारमा रहेको टेम्केमैयुङमा विद्युत् पहुँच विस्तार गरियो। त्यसपछि गाउँका बस्तीहरू उज्यालो बने।
तर २०७९ को स्थानीय तह निर्वाचनमा भने राईलाई हार व्यहोर्नुपर्यो। उनी कांग्रेसका उम्मेदवार सरोज बस्नेतसँग पराजित भए। यसबीच राईले एमाले परित्याग गरे। केही महिनाअघि मात्र उनी हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
त्यसपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले भोजपुरबाट उम्मेदवारी दिए। एमालेका केन्द्रीय सचिव शेरधन राईसँग उनको कडा प्रतिस्पर्धा भयो।
मतगणनाको अन्तिम परिणाममा ध्रुवराज राई विजयी भए। उनले १६ हजार ६६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत पाए। ध्रुवराज राईले एक हजार ९१३ मतान्तरले जित निकाले।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अब संघीय संसदसम्म पुगेको छ। भोजपुरको स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका राई अब राष्ट्रिय राजनीतिको नयाँ भूमिकामा पुगेका छन्।

