भोजपुर, २४ फागुन—भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराज राई विजयी भएका हुन् ।
एमाले सचिव शेरधन राईले १४ हजार ७ सय ५० मत ल्याए । ध्रुवराज राईले शेरधन राईलाई १ हजार ९१३ मतान्तरले पराजित गरेका हुन् । यस्तै, कांग्रेसका बालकृष्ण थापा ८ हजार ६७० मत ल्याउदै तेस्रो स्थानमा आए भने राष्ट्रिय रास्वपाका रमेश ओझाले ६ हजार १०२ मत ल्याई चौथो र नेकपाका अजम्बर राई ९काङमाङ० ५ हजार ७२८ मत ल्याउदै पाँचौं बने ।
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका राई भोजपुरका परिचित नेता हुन् । वामपन्थी विचारधाराबाट प्रभावित उनले भोजपुरको पहाडी भेगमा संगठन विस्तार र सामाजिक न्यायका लागि लामो समय काम गरेका छन् । उनले गाउँ जागरण सदस्य बाकाटाङ टोलको वाममोर्चाबाट सुरु गरेको राजनिती यात्रा २०५६ सालमा युवा संघ गाउँ कमिटी सदस्य, २०५७ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६२ मा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष, २०६३ मा अनेरास्ववियु अञ्चल कमिटी सदस्य, २०६० मा भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति, २ कार्यकाल, २०६४ मा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य, प्रदेश सचिवालय सदस्यसम्म पुगेका राई एमाले जिल्ला कमिटी सदस्य हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष बनेका राई प्रतिनिधिसभा सदस्यसम्मको राजनीतिक यात्रा तय गरेका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । आफू निर्वाचित भएपछि विकासलाई जगको रूपमा उनले गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य र पर्यटन विशेषगरी मुन्धुम ट्रेलको विकासमा महत्वपूर्ण भूमिका खेले । लोकप्रियता कर्मचारी र जनतासँगको सुमधुर सम्बन्ध तथा पारदर्शी कार्यशैलीका कारण उनी छोटो समयमै भोजपुर जिल्लाभरि विकासप्रेमी नेताका रूपमा चिनिए । उनले आफू गाउँपालिका अध्यक्ष भएपछि पालिकाको सबै वडामा बिजुली बत्तीको पहुच पुर्याएर उज्यालो गाउँपालिका समेत घोषणा गर्न भ्याए । त्यसैले पनि उनलाई विकासप्रेमी नेताको रुपमा चिनायो ।
उनी दोस्रो कार्यकालका लागि पनि एमालेबाट टिकट लिई गाउँपालिकामा उम्मेदवार बनी चुनावी मैदानमा होमिए । तर कांग्रेसका उम्मेदवार सरोज बस्नेत पालिका अध्यक्षमा विजयी भएपछि धक्का पुगेको थियो ।
एमालेको राजनीति गरिरहेका उनलाई भोजपुर जिल्लाबाट एमालेको केन्द्रीय महाधिवेशन प्रतिनिधि जान रोकिएपछि उनी असन्तुष्ट बनेका थिए । उनी २१ फागुनको निर्वाचन तोकिएपछि भोजपुरमा एमालेलाई हराउन श्रम संस्कृति पार्टीमा प्रवेश गरी उम्मेदवारको टिकट लिएर दिएका राई निर्वाचितका छन् ।
गाउँपालिकामा देखाएको कार्यक्षमता र लोकप्रियताकै कारण उनलाई यसपटक जनताले प्रतिनिधि सभा निर्वाचनमा भोजपुरबाट विजयी गराए ।
