दमक, २४ फागुन—कोशी प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमै श्रम संस्कृति पार्टीले उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । अधिकांश निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा उक्त पार्टीका उम्मेदवार देखिए । श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ वटा निर्वाचन क्षेत्र सुनसरी–१, खोटाङ र भोजपुरमा जित हात पारेको छ ।
धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका पार्टी अध्यक्ष हर्कराज राई ९साम्पाङ० सुनसरी–१ बाट ३५ हजार ७ सय ४१ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २ सय ४९ मत ल्याउँदै दोस्रो भइन ।
यहाँ एमालेका उम्मेदवार टीकाराम लिम्बु तेस्रो भए । उनले ६ हजार ४ सय ६३ मत पाए । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका अशोककुमार राई १७ हजार ५९ मतले विजयी बनेका थिए । अहिले हर्कसँग पराजित भएकी गोमा ०७९ को निर्वाचनमा रास्वपाबाटै चुनावी प्रतिस्पर्धामा थिइन् । उनले १६ हजार ६ सय मत पाएकी थिइन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका २९ वर्षीय आरेन राई विजयी भएका छन् । उनले १६ हजार ६ सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४ मत पाए । प्रतिस्पर्धामा तेस्रो भएका कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ मत पाए । ०७९ निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३ सय ५१ मत ल्याएर विजयी भएका थिए । त्यो बेला कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
भोजपुरमा पनि श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६ सय ६३ मतका साथ विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री भइसकेका एमालेका शेरधन राईले १४ हजार ७ सय ५० मत ल्याउँदै दोस्रो भए ।

आरेन राई, खोटाङपाँचथरमा कांग्रेसका नरेन्द्र कुमार केरुङ १७ हजार २ सय ३३ मत ल्याएर विजयी हुँदै गर्दा श्रम संस्कृती पार्टीका हस्तराज शेर्मा दोस्रो भए । उनले १४ हजार ७ सय ३४ मत पाए । इलाम–१ मा एमालेका काजीमान कागते ७ हजार ४ सय ८१ अघि हुँदा उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले पछ्याइरहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनको मत ६ हजार ७ सय ५९ छ ।
इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४ सय २६ मत ल्याएर विजयी हुँदा कांग्रेसका भेषराज आचार्य दोस्रो भए । उनले १४ हजार ६ सय ५० मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राई तेस्रो भए, उनले १४ हजार ४ सय मत ल्याए ।
झापा–१ म रास्वपाकी निशा डाँगी ४५ हजार ६ सय ८० ल्याएर विजयी भइन । जहाँ कांग्रेसका केशवराज पाण्डे १० हजार ५ सय ५० मतका साथ दोस्रो र श्रम संस्कृतिका केवलराम राई १० हजार ४ मतका साथ तेस्रो भए ।
झापा–२ मा पूर्व उपसभामुख एवं रास्वपाकी इन्दिरा राना मगर ६० हजार १ सय १० मतकासाथ विजयी भइन् । जहाँ पूर्व सभामुख एवं एमालेका देवराज घिमिरे ११ हजार ३ सय ६८ मतका साथ दोस्रो र पनि श्रम संस्कृतिका केशवकुमार भण्डारी ७ हजार २ सय ९१ मतका साथ तेस्रो भए ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले जित हासिल गरेको झापा–५ मा पनि श्रम संस्कृति पार्टी तेस्रो प्रतिस्पर्धी रह्यो । शाह ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदा यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो भए । तामाङले ९ हजार २ सय ३३ मत पाए । दोस्रो एमाले अध्यक्ष केपी शर्मा ओली भए, जसले १८ हजार ७ सय ३४ मत पाए ।
धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १ सय ३२ मत ल्याएर विजयी भएका छन् । जहाँ कांग्रेसका दिनेश राई १४ हजार २ सय ५७ मत ल्याएर दोस्रो भए भने श्रम संस्कृतिका सानबहादुर राई ११ हजार ९ सय ३२ मतसाथ तेस्रो भए । मोरङ–१ मा रास्वपका यज्ञमणि न्यौपाने २७ हजार ६ सय ६७ मत ल्याएर जियी हुँदा श्रम संस्कृतिका शान्तिदेवी पाख्रिन लामा दोस्रो भइन् । उनले १७ हजार ५ सय २२ मत पाइन् ।

