शिबगञ्ज, २५ फागुन–झापामा २१ फागुनमा सम्पन्न निर्वाचनमा सहभागी ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान रहेको छ।

जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, श्रम संस्कृति पार्टी र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरू समेत परेका छन्।

क्षेत्र नं १ मा नेकपा ९एमाले०का रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की र नेकपाका अशेष घिमिरेसहित १२ जनाको धरौटी जफत भएको छ। त्यसैगरी क्षेत्र नं २ मा राप्रपाका भद्रप्रसाद नेपाल ‘स्वागत’, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी र नेकपाकी धर्मशीला चापागाँईसहित १६ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्।

यस्तै, क्षेत्र नं ३ मा १५ जना उम्मेदवारको जमानत जफत भएको छ, जसमा नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरिबहादुर राजवंशी, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना र नेकपाका डिल्लीराम घिमिरे रहेका छन्। क्षेत्र नं ४ मा राप्रपाका भक्तिप्रसाद सिटौला र नेकपाका पुरुषोत्तम चुडालसहित १३ जना उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन्।

सबैभन्दा धेरै क्षेत्र नं ५ मा २२ जना उम्मेदवारको जमानत जफत भएको छ, जसमा नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला र श्रम संस्कृति पार्टीका समिर तामाङ लगायत रहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *