इलाम, २६ फागुन–करिव २६ बर्षपछि इलामको क्षेत्र न।१ मा नेपाली कांग्रेसले सफलता पाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम क्षेत्र नं १ मा निकै कडा र रोचक प्रतिस्पर्धाबिच कांग्रेसका युवा नेता निश्कल राईले नेकपा एमालेको वर्षौँदेखिको विरासतलाई तोड्दै संसदको यात्रा तय गरेका हुन् । तर यो निर्वाचनमा कांग्रेसको निकटतम प्रतिद्वन्द्वी एमाले होइन, श्रम संस्कृति पार्टी बन्न पुगेको थियो। उनीसंग श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बू र नेकपा एमालेका उम्मेदवार काजीमान कागतेसँग त्रिपक्षीय रोचक प्रतिस्पर्धा हुदाँ अन्तत राईले जित निकालेका हुन् ।
राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका लिम्बूले १३ हजार ६३२ मत ल्याए भने एमाले उम्मेदवार कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमै सीमित रहन पुगेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि विस २०५६ मा कांग्रेसका वेनुपराज प्रसाईं निर्वाचित भएका थिए । त्यसपछिका विस २०६४ को पहिलो संविधानसभा, विस २०७० को दोस्रो संविधानसभा र विस २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालनीन एमाले नेता झलनाथ खनालले जित्दै आएका थिए ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने तत्कालीन एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनै खलाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित भएका थिए।
देशैभर कांग्रेसले हारिरहँदा इलामका कांग्रेस नेता तथा कार्यकर्ताका लागि भने राईको यो जितले खुसी बनाएको छ । ३६ वर्षीय निश्कल इलामका लागि मात्र नभई राष्ट्रिय राजनीतिमै एक शिक्षित र वैचारिक युवा नेताका रूपमा परिचित छन् ।
विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने हाल उनी अर्थशास्त्रमा एमफिल अध्ययनरत छन् । उनको प्राज्ञिक पृष्ठभूमिले पनि मतदातालाई आकर्षित गरेको देखिन्छ ।
यही फागुन २१ गते भएको निर्वाचनमा यस क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदातामध्ये ६४ हजार १०४ मत खसेको थियो । यहाँ विभिन्न १३ राजनीतिक दलका १३ जना प्रतिष्पर्धामा थिए ।

