काठमाडौं, ४ चैत–उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता डा। राजु थापाले विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य-मान्यता विपरीत भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ,’यस्ता घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्नु स्वाभाविक हुन्छ।’

साथै, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक सरोकार, संस्थागत सुधार, जिम्मेवारी निर्धारण तथा न्यायिक र प्रशासनिक प्रक्रियाको आधार बन्नुपर्ने दस्ताबेज भएको उल्लेख गरिएको छ।

सत्य लुकाएर स्थायित्व आउँदैन, सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्दछ, विज्ञप्तिमा भनिएको छ।

उज्यालो नेपाल पार्टीका माग

१- गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्।
२- प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भए त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गरियोस्।
३- प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया अघि बढाइयोस्।
४- पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुने गरी आवश्यक निर्णय गरियोस्।
५- भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रतासम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *