काठमाडौँ, ९ चैत–नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि सुझाव संकलन थालेका छन् ।
उपमहासचिव भट्टराईले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजापछि पार्टीमा आत्मसमिक्षाको आवश्यकता औँल्याएका हुन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता(कार्यकर्ता, बुद्धिजीवी र शुभेच्छुकसँग राय, सुझाव तथा टिप्पणी पठाउन अपिल गरेका छन् । सुझाव समीक्षा वा पक्षपातभन्दा माथि उठेर पार्टीको भविष्यलाई सुदृढ बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
निर्वाचनमा कमजोर नतिजा आएको कारण नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, प्रचार र एजेन्डा लगायतका आन्तरिक तथा बाह्य पक्षहरूको विस्तृत विश्लेषण गर्न आवश्यक रहेको उपमहासचिव भट्टराईले बताए । यसैगरी, पार्टी रूपान्तरणका लागि ठोस सुधारका प्रस्ताव र त्यसको कार्यान्वयन प्रक्रिया तयार गर्न सुझाव माग गरेका छन् ।
भट्टराईले पार्टीका सबल पक्षको उपयोग र कमजोर पक्षको सुधारमार्फत एमालेलाई नयाँ संकल्प र पुनर्जागरणसहित अघि बढाउनुपर्नेमा जोड दिएका छन् । यही माध्यमबाट जिम्मेवारी बाँडफाँड र जवाफदेहिता सुनिश्चित गर्न सकिने उनको विश्वास छ ।
सुझाव पठाउन उनले इमेल र वाट्सएपमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् ।

