झापा, ८ बैशाख–उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा गएराति करिब २ः३० बजे भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो। लक्ष्मी खड्का र रविन कुमार दासको घर ध्वस्त भएको छ भने लक्ष्मी खडकाको पुस्तक पसलको गोदाम समेत जलेको छ।
आगो नियन्त्रणका लागि विभिन्न नगरपालिकाबाट दमकल खटिएको थियो। करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको हो। घटनास्थलमा फेला परेका कंकाल लक्ष्मी खड्का र पवन खड्काका हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
