काठमाडौं, १० असार–फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत दोस्रो चरणका खेलहरू समाप्त भएसँगै नकआउट (राउन्ड अफ ३२) को समीकरण रोमाञ्चक मोडमा पुगेको छ।
४८ टोली सहभागी यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै ७ वटा राष्ट्रले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन् भने साविक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्।
आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका (यूएसए) ले लगातार दोस्रो जित दर्ता गर्दै घरेलु मैदानमा अन्तिम ३२ को टिकट काटेका हुन्।
मेक्सिकोले समूह ‘A’ मा र अमेरिकाले समूह ‘D’ मा दबदबा कायम राखे। साविक विजेता अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘J’ बाट नकआउट यात्रा तय गर्यो । फ्रान्स, जर्मनी, नर्वे र कोलोम्बिया पनि लगातार दुई जितसहित अघिल्लो चरण प्रवेश गर्ने टोली बनेका छन्।
यस पटकको विस्तारित ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ।
४ अंक जोडेका ब्राजिल, इङ्ल्यान्ड, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र जापान जस्ता फुटबलका पावरहाउसहरू बलियो स्थितिमा रहे पनि गणितीय रूपमा ढुक्क हुन बाँकी छ।
अर्कोतर्फ, केही पूर्व उपविजेता तथा बलिया टोलीहरू भने संकटमा परेका छन्। क्रोएसिया, बेल्जियम र दक्षिण अफ्रिका जस्ता टोलीहरूका लागि समूह चरणको अन्तिम खेल गर या मरकोको स्थितिमा पुगेको छ। लगातार दुई हार बेहोरेका हाइटी, टर्की र ट्युनिसिया भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू आज रातिदेखस सुरु हुँदैछन्। खेलमा हुनसक्ने सम्भावित मिलेमतो र दाउपेच रोक्न फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ।
तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोल अन्तर निर्णायक बन्ने हुँदा आगामी खेलहरू झन् प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
