गोविन ल्वागुन/डुडामारी (शिवसताक्षी), १० असार–झापाको शिवसताक्षी–८ डुडामारीस्थित भगवती आधारभुत बिध्यालयमा बिभिन्न दाताबाट रु २ लाख बढीको अक्षयकोष स्थापना गरिएको छ ।
डुडामारीस्थित विद्यालय परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई सो अक्षयकोषको रकम हस्तान्तरण गरिएको हो ।
यसरी स्थापना गरिएको अक्षयकोषहरुमा स्वर्गीय हर्कप्रसाद–सनमाया तामाङ्गस्मृति अक्षयकोष रु १ लाख ५० हजार, एककुमार–आइतमाया शेर्मा दीर्घजीवन अक्षयकोषमा रु ५० हजार रहेको छ ।
विद्यालयका पुर्वशिक्षक समेत रहनुभएका ब्यबसायी कमल तामाङ र कमलादेबी तामाङले रु १ लाख ५० हजार र हाल दक्षिणकोरियामा रहेका रोहित सेर्मा र अमेरिकामा रहेकी रितु शेर्माले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरेका हुन ।
सोही बिध्यालयको पुर्व शिक्षकसमेत रहेका तामाङले उक्त अक्षयकोष बुबा स्वर्गीय हर्कप्रसाद तामाङ्ग र आमा स्व.सनमाया तामाङ्गको पुण्य स्मृतिमा जेहेन्दार तथा विपन्न परिवारका छात्र(छात्रालाई छात्रवृति एवं विद्यालयको शैक्षिक उन्नयनका निमित्त स्थापना गरिएको दाता कमल तामाङले जानकारी दिए ।
त्यस्तै, रोहित सेर्मा र रितु सेर्माले आफ्ना बुबा–आमाको नाममा उक्त रकम हस्तान्तरण गरेका हुन्। हाल दक्षिण कोरियामा रहेका रोहित सेर्मा र अमेरिकामा रहेकी रितु सेर्माले विद्यालयको शैक्षिक उन्नयनका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन्।
दाता दाजु–बहिनीले आफ्ना बुबा एककुमार सेर्मा र आमा आइतमाया सेर्माको दीर्घायुको कामना गर्दै अक्षयकोष स्थापना गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापा मगरले दाता परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आर्थिक रूपमा कमजोर तथा मेहनती विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने बताए।
वि.सं.२०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर सेर्मा का अनुसार विद्यालयमा यो संगै विभिन्न व्यक्ति तथा परिवारको नाममा करिब आधा दर्जन अक्षयकोष स्थापना भएको बताएका छन्।
स्थानीय समुदाय र विदेशमा रहेका नागरिकको सहयोगलेविद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्दै गएको विद्यालयले जनाएको छ।
