गौरादह, १९ भदौं–प्रथम गौरादह महिला फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज (शुक्रबारं भएको उद्घाटन खेलमा भारतको रथखोला एफसीले विजयी सुरुवात गरेको छ ।
गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न खेलमा रथखोलाले फेयर एफसी धरानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १६औँ मिनेटमा फेयर एफसीकी खेलाडीबाट भएको आत्मघाती गोलसँगै रथखोलाले अग्रता लिएको थियो । त्यसपछि फेयर एफसीका लागि २६औँ मिनेटमा यमकुमारी विकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् ।
दोस्रो हाफमा रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४७औँ र ६६औँ मिनेटमा दुई गोल थपिन् । उनको दुई गोलसँगै रथखोलाले ३-१ को जित सुनिश्चित गर्यो ।
खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएकी रथखोलाकी कप्तान प्रतिज्ञा प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतियोगिताअन्तर्गत शनिबार धरान लेडिज फुटबल क्लब र राङ्चा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
