सुजन गौतम बेलडाँगी (दमक), १८ असोज–झापाको दमकमा गत बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कपको चौथो दिनको क्वार्टरफाईनल खेलमा चन्द्रगढी भेट्रान (झापा) र धरान भेट्रान (सुनसरी) बीच भिडन्त भएको थियो ।
प्रतियोगिताको चौथो दिन आज (आइतबार) को खेलमा चन्द्रगढी भेट्रान (झापा) ले धरान भेट्रान (सुनसरी) लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलको खेल सुरु भएको ८औँ मिनेटमा धरान भेट्रानका जर्सी नम्बर १६ का पूर्व राष्ट्रिय खेलाडी खगेन्द्र खड्काले १ गोल गरेका थिए। त्यसपछि खेलको २२औँ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ९ का प्रेम लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
यस्तै, दोस्रो हाफ टाइमपछि खेलको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का मित्र बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।
त्यसैगरी आजै दोस्रो खेल तथा अन्तिम क्वार्टरफाइनल खेलमा काकडभिट्टा भेट्रान र दुधे भेट्रानबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा काकडभिट्टा भेट्रानले दुधे भेट्रान (शिबसताक्षी) लाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेल सुरु भएको पहिलो हाफसम्म दुबै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ८औँ मिनेटमा पेनाल्टीमार्फत काँकरभिट्टा भेट्रानका पूर्व राष्ट्रिय खेलाडी जर्सी नम्बर १४ का विशाल राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
लगत्तै दोस्रो हाफको ११औँ मिनेटमा पनि विशाल राईले थप अर्को गोल गर्दै टोलीलाई २–० को जित हासिल गराए। खेलका क्रममा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए।
यो खेलसँगै चन्द्रगढी भेट्रान र काकडभिट्टा भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भोलि हुने सेमिफाइनलको पहिलो खेल बिर्तामोड भेट्रान र चन्द्रगढी भेट्रान बीच हुनेछ भने सेमीफाइनलको दोस्रो खेल दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ सहित शिल्ड, ट्रफि, मेडल र प्माणपत्र पुरस्कार प्राप्त गर्नेछन्।
विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

