नुवाकोट/रसुवा, १८ असोज–आशिष प्रेस्बिटेरियन चर्च परिषद् नेपाल र धरान क्रिश्चियन समाजले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत तथा सहयोग सामग्री वितरण गरिएको काउन्सिलका सचिव एबम् रेभ आकाश थुलुङ राईले जानकारी दिनुभयो ।
पाष्टर राईका अनुसार राहत कार्यक्रममा १२४ परिवारलाई न्यानो कपडा र खाद्यान्न, ५० परिवारलाई नगद सहयोग तथा ४५ बालबालिकालाई शैक्षिक सामग्री र शिक्षाका लागि नगद सहयोग प्रदान गरिएको छ। परिवारका लागि टर्चलाइट, सेनेटरी प्याड, साबुनलगायत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत सुरक्षाका सामग्रीसमेत वितरण गरिएको थियो।

आशिष प्रेस्बिटेरियन चर्च परिषद् नेपालका महासचिव एबम् राहत वितरण कार्यक्रमका संयोजक रेभ कुबेर गुरुङले विपद्का बेला प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न राहत कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले प्रभावित समुदायलाई सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएकाले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग जारी राखिने बताउनुभयो।
धरान क्रिश्चियन समाजका सचिव भक्त राईले प्रभावित परिवारको अवस्था र आवश्यकताका आधारमा राहत सामग्री छनोट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार खाद्यान्न र कपडासँगै स्वास्थ्य तथा सरसफाइका सामग्री पनि वितरण गरिएको हो।

प्रभावित परिवारको अवस्था निरन्तर बुझ्दै थप राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने बताइएको छ। एकपटकको राहतले मात्र जिम्मेवारी पूरा नहुने भन्दै पुनःस्थापना र दैनिक जीवन सहज बनाउन विभिन्न क्षेत्रबाट सहयोग जुटाइने जानकारी दिइएको छ।
राहत तथा सहयोग सामग्री वितरण कार्यक्रममा उममोडरेटर रेभ ध्रुव अधिकारी, महासचिव एबम् राहत वितरण कार्यक्रमका संयोजक रेभ कुबेर गुरुङ्ग, सचिव रेभ आकाश थुलुङ्ग राई सदस्य रेभ इन्द्र लुंगेली, एल्डर महेन्द्र अब्राहम मगर, एल्डर एसाव थुलुङ्ग राई, केफास रणपहेली, विसन श्रेष्ठ, सागर विक्रम शाहसहित धरान ख्रिष्टियन समाजबाट पास्टर सिलास लिम्बू र डिकन भक्त राई सहभागि भएका थिए ।

