सुजन गौतम बेलडाँगी, १९ असोज–झापाको दमकमा गत बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधिका लागि दमक र बिर्तामोड भेट्रानवीच प्रतिस्पर्धा हुने भएको छ ।
आज सेमिफाइनलका दुई खेलहरु सम्पन्न भएका छन् । सेमिफाइनलको पहिलो खेलमा बिर्तामोड भेट्रान बिजयी भएका छन् भने दोस्रो खेलमा आयोजक दमक भेट्रान बिजयी भए ।
बिर्तामोड भेट्रान फुटबल क्लबले चन्द्रगढी भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
दमक–२ बेलडाँगी खेलमैदानमा सोमबार सम्पन्न खेलको टुङ्गो पेनाल्टी मार्फत छिनोफानो भएको थियो ।
निर्धारित समयमा गोल रहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा दुवै टोलीले २–२ गोल गरेपछि खेल बराबरी भएको थियो। निर्णायक पेनाल्टीमा बिर्तामोड भेट्रानले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
त्यसैगरी, आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रानबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा दमक भेट्रान (रातो) ले काकडभिट्टा भेट्रानलाई पेनाल्टीमार्फत १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भयो ।

खेलको निर्धारित समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफपछि पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल बराबरी भएको थियो। निर्णायक पेनाल्टीमा दमक भेट्रान रातोले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। यो खेलसँगै बिर्तामोड भेट्रान र दमक (रातो) भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
२१ गते बुधबार हुने फाइनलको खेल बिर्तामोड भेट्रान र दमक रातो भेट्रानबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ। सो क्याफेका सञ्चालकसमेत रहनुभएका दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले दमकमा खेलकुदको गतिविधिहरुलाई प्रोत्साहन र हौसल्ला बढाउन आवश्यक रहेको बताउनुभयो ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रथम दमक भेट्रान च्योजेन्ज कप–२०८३ सञ्चालन भइरहेको छ।
