काठमाडौं, १९ असोज–नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा पद र सत्तालाई महत्व दिँदा पार्टी कमजोर बनेको बताएका छन्।

पार्टीको १५ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा थापाले उद्देश्यभन्दा पद र सत्तालाई महत्व दिएको र नीतिगत सहकार्य लेनदेनमा सीमित भएको उल्लेख गरेका हुन्।

‘हामीले उद्देश्यभन्दा पद र सत्तालाई महत्व दियौँ र नीतिगत सहकार्य लेनदेनमा सीमित भयो। भ्रष्टाचार र अनियमितताका प्रश्नमा आफ्नै पक्षलाई जोगाउने र नियुक्तिमा भागबन्डा गर्ने प्रवृत्तिले नैतिक विश्वसनीयता, संस्थाको स्वायत्तता र योग्यताको सम्मानलाई कमजोर बनायो।

सरकार फेरिँदा कार्यक्रम रोक्ने अभ्यासले नीतिगत निरन्तरता भङ्ग गर्यो। उनले प्रतिवेदनमा लेखेका छन्, ‘नेतृत्वको कमजोर कार्यसम्पादन र विश्वसनीयतामा आएको ह्रासले यस अवधिमा हासिल भएका वास्तविक तथा ठोस उपलब्धिसमेत ओझेलमा पारे। उपलब्धिको महत्व नागरिकको अनुभवमा स्थापित गर्न र तिनका आधारमा विश्वास कायम राख्न नसक्नु पनि हाम्रो नेतृत्वको कमजोरी रह्यो।’

पार्टी जीवन नागरिकको सरोकारभन्दा टिकट वितरण र गुटीय समीकरणमा खुम्चिएको गगनको टिप्पणी छ।

‘संगठन निर्वाचनकेन्द्रित भयो। अध्ययन र सामुदायिक काम बेवास्तामा परे र अवसरमा क्षमताभन्दा नेतृत्वसँगको निकटता हावी भयो। निर्वाचनपूर्वको गठबन्धनले पार्टीको स्वतन्त्र पहिचान र जनसम्बन्ध सिथिल बनायो। युवालाई पर्याप्त सहभागिता नदिँदा र अल्पकालीन सत्ताका लागि मूल्य(मान्यतामा सम्झौता गर्दा लोकतन्त्रमा विश्वास राख्ने नागरिकको भरोसा पनि घट्दै गयो।’

प्रतिवेदनमा थापाले लेखेका छन्, ‘यो विश्वास प्रचारबाट मात्र फर्कँदैन, आलोचना सुन्ने, गल्ती सच्याउने र आफैँमाथि पनि नियम लागू गर्दै लोकतान्त्रिक मूल्यमा अडिने व्यवहारबाट हामीले यो विश्वास आर्जन गर्नुपर्नेछ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *