प्रहरी महानिरीक्षक डाक्टर मनोजकुमार केसी

काठमाडौँ, १९ कार्तिक–प्रहरी महानिरीक्षक डाक्टर मनोजकुमार केसी आज नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक पदमा पदोन्नति भए।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन्।

नुवाकोट जिल्लाको साविक तुप्चे २ हाल बिदुर नगरपालिका वडा नम्बर ७ मा बुबा अशोककुमार केसी र माता शान्ति केसीको कोखबाट विसं २०३२ साउन २८ गते जन्मिएका प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसीका श्रीमती सर्‌यू केसी र छोरा अंशुमन केसी छन्।

प्रहरी महानिरीक्षक केसीले विसं २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए। प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक केसी २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए।

एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिजमा विद्यावारिधी गरेका प्रहरी महानिरीक्षक केसीले पिसकिपिङ एण्ड इन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, लजिस्टिक सपोर्ट टु युएन पिस किपिङ अपरेसन्स्, ग्लोबल टेरोरिजम, इन्टरनेशनल ह्युमेनेटेरियन ल एण्ड ल अफ आर्म्ड कन्फ्लिक्ट, सेक्युरीटि मेजर्स फर युएन पिसकिपर्स, हस्तक्षेप र व्यवस्थापनका सिद्धान्तहरू, इन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्स, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, व्यवस्थापन र विकास तालिम, मास्टर ट्रेनिङ अफ ट्रेनर्स, स्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट लगायत विभिन्न १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक केसी प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायतका विभूषणबाट विभूषित छन्।

यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित भएका थिए।

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक केसीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा दंगा नियन्त्रण प्रहरी गण मुख्यालय बर्दिबास महोत्तरी, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौँ, जिल्ला प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय काठमाडौँ, अञ्चल प्रहरी कार्यालय राप्ती, जिल्ला प्रहरी कार्यालय धादिङ, महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गरे।

प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय रूपन्देही, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र प्रहरी प्रधान कार्यालय नक्साल लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गरे। प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कमाण्ड गरेका केसी २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भए।

प्रहरी अतिरिक्त महानिरीक्षकमा उनले केन्द्रीयअनुसन्धान ब्यूरो लाजिम्पाट, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कमाण्ड समेत गरे।

उनले प्रहरी प्रधान कार्यालयमा पुगेर पद पनि सम्हालिसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *